Shittalpati
मनाइयो नागपञ्चमी

पाल्पा, नागपञ्चमी पर्व मगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे हो ।

घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराहलगायत पुराणमा गरिएको छ । नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् । यस दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नाथस्थान बनाई पूजा गरिन्छ । नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ ।

यो प्रचलन वैदिक कालदेखि नै रहिआएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको बुढापाकाहरु बताउँछन् । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको हो । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शैययामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update