Shittalpati
आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै

पाल्पा, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा हरेक वर्ष नागको पूजा गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार आज सबैका घर घरमा नाग टाँसी पूजा आरधान गरिदैं छ ।

नागको तस्बिर टाँसी पूजा गर्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । यो प्रचलन वैदिक कालदेखि नै रहिआएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको बुढापाकाहरु बताउँछन् । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको हो । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शैययामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा बिभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंबदन्ती यस्तो छः एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानदेखि क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर किसानका श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् ।

किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी ‘मलाई नमार्नुस्, म तपाईको पूजाआजा गर्छु र दूध खान दिन्छु’ भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले ‘तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग’ भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update