Shittalpati
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा !

गुल्मी, घरबार विहीन भई ओडारमा बस्दै आएको एक परिवारलाई घर बनाउन जग्गा सहयोग भएको छ । विगत लामो समयदेखि बडिगाड गाउँपालिका वडा ६ को खाल नजिकैको ओडारमा बसोवास गर्दै आएका जुना दमाईको परिवारलाई घर बनाउन जग्गा सहयोग भएको हो । उनलाई बाँकेको खजुरा गाँउपालिका वडा ४ डिगाँउ नेपालगञ्जका समाजसेवी लिलबहादुर थापाले घर निर्माणको लागि घडेरी खरिद गरिदिएका हुन् ।


विगत १४ वर्ष यता हाल अमेरिकामा रोजगारीको शिलशिलामा रहदै आएका थापाले घरबार विहीन बनेका दमाई परिवारलाई घडेरी खरिद गरिदिएका छन् । थापाले बडिगाड गाउँपालिका वडा ५ को टारीमा घडेरी खरिद गरी पीडित जुना दमाईको नाममा रजिष्ट्रेशन पास समेत गरिदिएका छन् । अबको केही दिनमै दमाई परिवारको घर निर्माणको कार्य अगाडि बढ्ने छ । घर निर्माणको लागि लाग्ने सम्पूर्ण खर्च समेत समाजसेवी थापा आफैले ब्यहोर्ने बताए । घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जिटिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम संघर्षका कथा मार्फत प्रशारण भएपछि थापाले सहयोग गरेका हुन् । एकाइसौ शताब्दीमा समेत ओडारमा बस्नु परेको अवस्था दुःखद् रहेकाले आफुले घर बनाउन सहयोग गरेको थापाले बताए ।

सरकारले गर्नुपर्ने काम थापाले गरेको प्रति खुसी व्यक्त गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले धन्यवाद दिइन् । पालिका अध्यक्ष अधिकारीले थापाले गरेको सहयोग अनुकरणीय र प्रसशनिय रहेको बताइन् । ४ जनाको परिवार सहित ओडारमा बस्दै आएका वृद्ध चाउने दमाईले गहभरी आँसु झार्दै थापा आफ्नो परिवारका लागि भगवान बनेर आएको बताए । उनले आफ्ना लागि सहयोगी थापा भगवान बनेर आएको भन्दै धेरै धन्यवाद र आर्शिवाद दिए । पछिल्लो समयमा समाजसेवी थापाले विदेशमा आफूले कमाएको रकमको केही कमाई समाजसेवामा खर्चिदै आएका छन् । समाजसेवी थापाले गुल्मी तथा बागलुङ लगायतका विभिन्न स्थानमा रहेका दुःखी, गरिब र अशक्त, असहाय एवं दिन दुःखीका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।
–पत्रकार कौरव खत्रीको सहयोगमा

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update