Shittalpati
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

रामचन्द्र रायमाझी
हेटौडा, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउन सक्ने भएकाले सशक्त रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरे । उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै पत्रकारहरुलाई स्वतन्त्रताको प्रत्याभूत दिलाउन सरकार प्रतिवद्ध रहेको बताए । पछिल्लो समयमा केही राजनीतिक दलहरुका कारण लोकतन्त्र संकटमा परेकाले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले काँग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिवद्ध रहेको समेत बताए । कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहहरुलाई स्वच्छ, निष्पक्ष ढंगले पत्रकारिता गर्न आग्रह गरे । उनले संविधानमा गरेको पे्रस स्वतन्त्रताको व्यवस्थालाई सरकारले अक्षरांस पालना गर्ने बताए । सञ्चारमन्त्री कार्कीले पछिल्लो समय नेपाल श्रीलंका जस्तो हुन थालेको अफवाह फैलिएकाले त्यो सत्य नभएको बताए । उनले भने ‘अर्थतन्त्रमा समस्या आएपनि अवस्था श्रीलंका जस्तो भने हुँदैन’ बाहिर आएका हल्लाहरु प्रति सजग हुन मन्त्री कार्कीले पत्रकारहरुलाई आग्रह गरे । मन्त्री कार्कीले पत्रकारहरुको हकहितका लागि सरकार सधैं गम्भीर बन्दै आएको बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाज रुपान्तरणमा पे्रसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले देशलाई स्थायित्व दिन र आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न सशक्त रुपमा कलम चलाउन पे्रस युनियनका पत्रकारहरुलाई आग्रह गरे । नेता पौडेलले देशलाई बलियो र आर्थिक विकासको दिशामा अगाडि बढाउन पत्रकार र राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय हरेक निर्वाचनहरु खर्चिलो बन्दै गएकाले त्यसलाई रोक्ने दिशामा पत्रकारहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापतिहरु धनराज गुरुङ, पूर्णबहादुर खड्काले समाजका विकृति विसंगती, अनियमिताका विषयमा सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । नेपाली काँग्रेसका महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्माले देश र समाज रुपान्तरणमा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले सरकारको खराब कामहरुको खबरदारी गर्न र राम्रा कामहरुलाई जनता समक्ष शुसुचित गर्न पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता प्रकाश सरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, नेपाल वरिष्ठ उपाध्यक्ष ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु शर्मा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्बु श्रेष्ठ, प्रेस युनियन मकवानपुरका सभापति पोष्टराज अधिकारी लगायतले युनियनलाई सक्षम र सवल बनाउने नेतृत्व आउनुपर्नेमा जोड दिए । महाधिवेशनको उद्घाटन सत्र यनियनका सभापति बद्री सिग्देलको अध्यक्षता, वरिष्ठ उपसभापति दीपक आचार्यको स्वागत, कार्यवाहक महासचिव भीष्मराज ओझाको सञ्चालनमा कार्यक्रम भएको हो ।

शुक्रबारदेखि सञ्चालन भएको नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनका लागि देशभरबाट प्रेस युनियनका प्रतिनिधि तथा शुभेच्छुक हेटौडा पुगेका छन् । यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो । प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । उद्घाटन सत्रपछि शुक्रबार नै निर्वाचनको प्रक्रिया शुरु भएको छ । आज मतदान हुने र मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update