Shittalpati
मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची

बुटवल, मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल मुद्रण महासंघका बरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, संस्थापक अध्यक्ष खेमप्रसाद लुइटेल, संस्थाका सल्लाहकार तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद पराजुलीले संयुक्त रुपमा मूल्यसूची सार्वजनिक गरेका हुन् ।

मूल्यसूची सार्वजनिक गर्दै नेपाल मुद्रण महासंघका बरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले मुल्यसूची प्रकाशनले बजार मूल्यमा एकरुपता आउने र संस्थाको विश्वसनियतामा पनि वृद्धि हुने बताए । उनले उक्त मूल्यसूचीलाई सम्पूर्ण व्यवसायीहरुले अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । तिवारीले विगतका दिनमा मुद्रण व्यवसायीलाई सरकार र अन्य संघसंस्थाले हेर्ने दृष्टिकोणमा केही भिन्न भए पनि पछिल्लो समय मुद्रण व्यवसायीले देखाएको विश्वसनियताप्रति सरकार र अन्य संघसंस्थाहरुले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको बताए । संघका संस्थापक अध्यक्ष खेमप्रसाद लुइटेलले समयपरिस्थिती अनुसार मूल्यमा समायोजन गर्नु आवश्यक रहेको औल्याए ।

संघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पराजुलीले मुद्रण उद्योग संघ रुपन्देहीको विशेष पहलमा प्रकाशन गरेको मूल्यसूचीले रुपन्देहीका मुद्रण व्यवसायीहरु बिचको एकतालाई थप मजबूद र सुदृढ बनाउने बताए । मुद्रण उद्योग संघ रुपन्देहीले उक्त मूल्यसूची निर्माण गर्नुपूर्व मेसिनका साईज र क्षेत्रगत हिसावमा चरणबद्ध रुपमा बैठकहरु गरी मूल्यका विषयमा विशेष छलफल गरेको थियो । उक्त छलफलबाट आएका विषयहरुलाई समेटेर मूल्यसूची निर्धारण गरिएको संघका सचिव सागर पाठकले एनजेडीलाई जानकारी दिए । उनका अनुसार ग्राहक र व्यवसायीहरुलाई सहज हुने गरी मूल्य सूची बनाइएको छ । सचिव पाठकले संघले सार्वजनिक गरेको नयाँ मूल्युसूची सबै ग्राहकले देख्ने गरी राख्न सम्पूर्ण मुद्रण व्यवसायीहरुलाई आग्रह समेत गरे । संघका अध्यक्ष लिलाधर लुईटेलको अध्यक्षता, उपाध्यक्ष पशुपति पौडेलको स्वागत, सचिव सागर पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो । संघले रुपन्देहीका मुद्रण व्यवसायीहरुको हकहित र संरक्षणका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update