Shittalpati
‘शिक्षक मैनबत्ती हुन्’

रामचन्द्र रायमाझी
पाल्पा, जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् । उनले भने ‘अन्धकारमा जसरी मैनबत्ति आफु जलेर अरुलाई उज्यालो बनाएको हुन्छ, त्यसै गरी शिक्षकले सधै भरी आफु जलेर अरुलाई उज्यालो बनाउने दिशामा आफुलाई समर्पित गरेको हुन्छ ।’ अन्धकारमा रहेको व्यक्तिलाई ज्ञानको ज्योति छरेर शिक्षकले उज्यालोतर्फको बाटो तय गरिदिने गरेको खनालको भनाई छ ।

प्रमुख अतिथि समेत रहेका उनले डाक्टर, पाइलट, इञ्जिनियर, वकिल, किसान, मजदुर सबै शिक्षककै उत्पादन भएको बताए । सभ्य समाज र राष्ट्र निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने खानालले बताए । उनले भने‘एउटा डाक्टर कमजोर भए एक/दुई सय जना व्यक्ति विरामी हुन्छन्, एउटा इञ्जिनियर कमजोर भए मापदण्ड विपरीत केही घर, भवनहरु निर्माण हुन्छन्, तर एउटा शिक्षक कमजोर भए समाज र राष्ट्र नै कमजोर बन्छ ।’ शिक्षक पेशा मर्यादित र विश्वसनिय पेशा भएकाले कस्तो समाज र राष्ट्र निर्माण गर्ने भन्ने कुरा शिक्षकमै निर्भर हुने खनालले बताए । शिक्षा विज्ञान युवा तथा खेलकूद मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद पन्थले समाज र राष्ट्र रुपान्तरणमा शिक्षकले खेलको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रदेश सरकारले सम्मान गर्दै आएको बताए । पन्थले भने ‘हामी प्रदेशका ६ वटा सामाजिक विकास डिभिजन कार्यालयमार्फत उत्कृष्ट शिक्षक र विद्यालाई सम्मान तथा प्रोत्साहन गर्दै आएका छौं ।’ पहाडका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घढ्दै गएकाले त्यसतर्फ ध्यान दिन शिक्षकहरुलाई उनले आग्रह समेत गरे । शिक्षकहरुले आफुहरुलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरेको भन्ने कुरा गलत रहेको भन्दै सचिव पन्थले शिक्षक देशको पहिलो नागरिक नै भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले शिक्षकको सम्मान सबै क्षेत्रको सम्मान भएको बताए ।

उनले शिक्षाको गुणस्तर र उन्नयनमा शिक्षक सम्मानले थप टेवा पुग्ने बताए । शिक्षा विकास तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले शिक्षक तथा विद्यालयहरुलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तरमा वृद्धि गर्न प्रदेश सरकारले सम्मान कार्यक्रम गर्दै आएको बताए । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरीलाल अर्यालले विभिन्न सूचकहरुको आधारमा शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको बताए । उनले शैक्षिक क्षेत्रमा शिक्षकको योगदान महत्वपूर्ण रहे पनि सम्मान केही नभएको बताए । प्रमुख अर्यालले शिक्षकसँगै सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले गुल्मी र पाल्पाका ६६ जना उत्कृष्ट शिक्षक र दुई वटा विद्यालयहरुलाई सम्मान गरेको छ । उसले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट शिक्षक विद्यालयलाई नगद सहित सम्मान गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याएका पाल्पा रामपुरको राम तुलसी मावि र गुल्मीको रेसुङ्गा मावि सम्मानित भएका छन् । ‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इजत’ भन्ने नाराका साथ डिभिजन कार्यालयले हरेक वर्ष शिक्षक र विद्यालयहरुलाई सम्मान गर्दै आएको छ । यस वर्ष गुल्मीका ३६ जना र पाल्पाका ३० जना शिक्षकलाई सम्मान गरिएको कार्यालयका शाखा अधिकृत पूण्यप्रसाद न्यौपानेले बताए । सम्मानित शिक्षकहरुलाई प्रति शिक्षक दश हजार र प्रति विद्यालयलाई दुई लाख ५० हजारका दरले सम्मान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update