Shittalpati
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म

रामचन्द्र रायमाझी
पाल्पा,   नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।

२०२६ सालमा तानसेनको मेहलधारामा बुवा बद्री प्रसाद रेग्मी र आमा राधादेवी रेग्मीको सन्तानका रुपमा जन्मिएका रेग्मी उप नाम जस्तै निरन्तर आफ्नो क्षेत्रमा तल्लीन छन् । २०४६ सालमा शिक्षक पेशामा प्रवेश गरेका अथक अहिले क्याम्पस प्रमुखको जिम्मेवारीमा पुगेका छन् । क्रियाशिलता र लगनशीलताका कारण रेग्मी अहिले पाल्पाको प्रतिष्ठीत शैक्षिक धरोहर तानसेन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख बनेका छन् । लामो समय सहायक क्याम्पस प्रमुख रहेका उनलाई क्याम्पस व्यवस्थापन समितिको बैंठकले बुधबार क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । २०६३ भाद्र १६ मा आशिक शिक्षकको रूपमा क्याम्पस प्रवेश गरेका रेग्मी २०६४ जेठ ६ मा करार र २०६९ फागुन १ मा सहायक क्याम्पस प्रमुख हुँदै २०७९ असार १ देखि क्याम्पस प्रमुख भएका हुन् । रेग्मीले पद्य पव्लिक नमूना मावि तानसेनबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट व्यवस्थापनमा स्नातक, सप्तगण्डकी क्याम्पस भरतपुरबाट १ बर्षे बी एड र त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट शिक्षा योजना तथा व्यवस्थापनमा एमएड उत्तीर्ण गरेका छन् । असल शिक्षक र कुशल प्रशासकको जिम्मेवारी समेत सम्हालेका रेग्मी बहुआयमिक व्यक्तित्वका रुपमा छवि बनाउन सफल भएका छन् । कुरा र भाषणभन्दा पनि कार्यसम्पादन प्रभावकारी रूपमा पूरा गर्ने बहुमुखी स्वभावका जुझारू नेतृत्वकर्ता समेत रेग्मी हुन् । सामाजिक, स्वंयसेवक, साहित्य, मानवअधिकार, नागरिक समाज लगायतका संस्थाहरूको उनले नेतृत्व गरिसकेका छन् । जुन संस्थामा नेतृत्व गरे पनि संस्थालाई उचाइमा पुर्याइ छाड्ने उनको स्वभाव नै छ । रेग्मीले शैक्षिक संस्था मार्फत गर्दै आएको कार्यसम्पादन पनि कुनै नेतृत्व भन्दा कम छैन् ।

उनी शोध, खोज सोंच र अठोट भएका व्यक्ति समेत रहेको जिल्लाका शैक्षिक, सामाजिक,राजनीतिक व्यक्तित्वहरू बताउँछन् । शिक्षा मन्त्रालयबाट शिक्षाविद्को रूपमा समेत सम्मानित भइसकेका रेग्मीले मानव अधिकारको क्षेत्रमा तीन पटक र नागरिक समाजको क्षेत्रमा एक पटक पाल्पालाई राष्ट्रिय पुरस्कार प्राप्त गराउन सफल भएका छन् । रेग्मी पत्रकार समेत हुन् । उनी नेपाल प्रेस युनियन पाल्पाका उपसभापति , नवजनचेतना दैनिकका नियमित लेखक, सेरोफेरो न्युज डटकममा लेख सम्पादक समेत रहेका छन् । तानसेन बहुमुखी क्याम्पसबाट प्रकाशित हुने तानसेन त्रैमासिक बुलेटिनको समेत उनले सम्पादन गर्दै आएका छन् । शिक्षा र साहित्यका क्षेत्रमा उनका डेढ दर्जन पुस्तकहरू प्रकाशित भइसकेका छन् । उनी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान र शीत काव्य समाज नेपालका अध्यक्ष समेत रहेका हुन् । रेग्मीले साहित्य क्षेत्रको नविनतम विधा शीतको जन्म समेत गराएका छन् ।

क्याम्पस प्रमुखमा नियुक्त भए लगत्तै रेग्मीले एनजेडीसँगको कुराकानीमा क्याम्पसको शैक्षिक गुणस्तर उकास्ने दिशामा आफ्नो पहिलो प्राथमिकता रहने बताए । उनले क्याम्पसको प्रशासनिक सेवाको सुधारसँगै शिक्षालाई प्रविधिमैत्री बनाउने अठोट लिएका छन् । कर्तव्यप्रति निष्ठावान रेग्मीले शिक्षण पेसासँगै अन्य क्षेत्रमा देखाएको जाँगर र मेहनत अहिले शिक्षण पेसामा लागेका र अन्य क्षेत्रमा आवद्धहरुका लागिसमेत प्रेरणादायी बनेको छ । रेग्मीेको बुझाइमा शिक्षक भनेका विद्यार्थीका लागि विश्वासिलो मित्र, पथप्रदर्शक र अभिभावक हुन् । ‘भोलिका शिक्षकले साँच्चिकै शिक्षक बन्ने हो भने यी तीनवटा भूमिकालाई राम्रोसँग निर्वाह गर्न सक्नुपर्छ’, रेग्मीले आफ्नो अनुभव सुनाए ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update