Shittalpati
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’

पाल्पा,  जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।

बुधबार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले पूर्ण खोप गाउँपालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । माथागढीले वडालाई पूर्ण खोप घोषणा गरेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो । एकै दिन वडा र पालिका घोषणाको प्रमाणपत्र वितरण गरिएको छ । प्रमाण पत्र वितरण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख गिरीले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए । जिल्ला समन्वय समितिका प्रमुख जनार्दन अधिकारीले पूर्ण खोप घोषणा गरेपनि समय–समयमा अनुगमन गरिने बताए । गाउँपालिका अध्यक्ष यम चिदीले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुविधा दिइरहेको बताए । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष चिदीले बताए । १६ महिनादेखि २३ महिनाका २ सय ८७ जना बालबालिकाले पूर्ण र ० देखि १५ महिनाका ४ सय ६२ जना बालबालिकाले नियमित खोप लगाएपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । यहाँका ८ वटै वडाबाट शून्यदेखि २३ महिना सम्मका बालबालिकाहरुको विवरण संकलन गरी खोप लगाईएको प्रमुख जिसीले एनजेडीलाई बताए ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update