Shittalpati
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा

पाल्पा, बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।

आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिहरुलाई उनीहरुले खाद्यान्न दिएका छन् । गौतमबुद्धको उपदेश सेवा नै धर्म हो भन्ने भावलाई आत्मसाथ गर्दै आश्रममा रहेका व्यक्तिहरुलाई खाद्यान्न र आर्थिक सहयोग गरेको संघले जनाएको छ । पत्रकार र उद्योगी व्यवसायीहरुसँगै पुगेको बौद्धधर्मलम्वीहरुको टोलीले त्यहाँ रहेका २५ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुका लागि खाद्यान्न र दश हजार आर्थिक सहयोग गरेको हो ।

संघले उक्त खाद्यान्न र आर्थिक सहयोग रकम एक औपचारिक कार्यक्रमका बिच निल सागर आश्रमका संयोजक देवप्रसाद बज्राचार्य र वृद्धाश्रमका अध्यक्ष विश्वमान बज्राचार्यलाई हस्तान्तरण गरेको छ । बौद्धधर्मलम्वीहरुको टोलीसँगै आश्रम पुगेकी ढाका उद्योगी तथा बौद्ध महिला संघकी अध्यक्ष पूर्णमाया महर्जनले मानव सेवा जस्तो आश्रमको संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताईन् । महर्जनले आश्रमका लागि आवश्यक सहयोग गर्न आफु तयार गरेको बताईन् ।

 

नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले बौद्ध संघले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले असहाय, अशक्त र वृद्धवृद्धाहरुको हेरचाह गर्ने संस्था तानसेनमै पाउनु तानसेनवासीहरुको लागि सौभाग्य रहेको भन्दै त्यसको संरक्षण र प्रवद्र्धन गर्ने दायित्व पनि स्थानीय र स्थानीय सरकारको रहेको धारणा व्यक्त गरे । कार्यक्रममा निलसागर आश्रमका संयोजक देवप्रसाद बज्राचार्य र वृद्धाश्रमका अध्यक्ष विश्वमान बज्राचार्यले असहाय, अशक्तहरुप्रति बौद्ध संघले देखाएको माया र सहानुभूतिप्रति धन्यवाद दिए । उनीहरुले संस्था सबैको दान र सहयोगबाट सञ्चालन भएको बताए । अशक्त नागरिकहरुको व्यवस्थापनमा चुनौती र कठिनाई भए पनि दाताहरुले देखाएको सहयोग र सद्भावले आफुहरुलाई थप हौसला मिलेको उनीहरुको भनाई छ ।

बौद्ध युवा संघका अध्यक्ष किशोर दर्शन बज्राचार्यले संस्थाको मर्म र भावना अनुसार खाद्यान्न सहयोग गरेको बताए । अध्यक्ष बज्राचार्यले आगामी दिनमा पनि संस्थाले आश्रममा रहेका असहाय, अशक्तहरुको पक्षमै कार्यक्रम गर्ने बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजेशबहादुर बज्रचार्य, चुडाकर्म ब्रतबन्ध संघका अध्यक्ष विरेन्द्र काजी शाक्य, तानसेन ३ का वडा सदस्य पल्लव केसी, संघका सल्लाहकारहरु जीवन मान बज्राचार्य, विनयराज बज्राचार्य, नारायणबहादुर बज्राचार्य,बसन्तलाल बज्राचार्य, प्रविन राज शाक्य, राजेश काजी शाक्य, धिरेन्द्रलाल शाक्य, मेनुका बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । संघका अध्यक्ष किशोरदर्शन बज्राचार्यको अध्यक्षता, कार्यक्रमको संयोजक अनुराधा बज्राचार्यको स्वागत, सचिव विवेक काजी शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update