Shittalpati
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

लुम्बिनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधैँ लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार बिहान एघार बजेतिर लुम्बिनी आउने छन् ।

हेलिकप्टरबाट झरेपछि उनी सिधंै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पूजा कार्यक्रममा सहभागी हुने जनाइएको छ । मोतीसँगै ११ सदस्यीय प्रतिनिधिमण्डलको टोली यहाँ आउदै छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेका छन् । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा.आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पा लगायतले स्वागत गर्ने कार्यक्रम छ । आज नै दुबै देशका प्रधानमन्त्री बीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update