Shittalpati
रामतुलसीमा ८ कोठे पक्की भवनको शिलन्यास

इमान सिं राना

पाल्पा(रामपुर), रामतुलसी माध्यमिक विद्यालय रामपुरमा ८ कोठे पक्की भवनको शिलन्यास भएको छ । जिल्लाको पूर्वी क्षेत्र कै अग्रणी शैक्षिक संस्था एवं नमुना विद्यालयको रुपमा परिचित रामतुलसी माविमा बुधबार भवन शिलन्यास गरिएको हो । भौतिक संगै शैक्षिकस्तर सुधारको क्रममा रहेको विद्यालयमा ५ वर्षे गुरुयोजना अनुसार भवन निर्माण अघि बढेको हो । नमुना विद्यालयको भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकारबाट प्राप्त १ करोड ५० लाख मध्ये १ करोडको लागतमा भवन निर्माण हुन लागेको हो ।

भवनको शिलन्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सम्पूर्ण विकासको संवाहक शिक्षा भएको बताउँदै स्तरिय शिक्षाको लागि सरोकारवाला निकायहरु विच समन्वयको आवश्यकता रहेको बताए । उनले रामतुलसी नगरकै गौरवको विद्यालय भएको बताउँदै विद्यालयको विकासको लागि नगरले पहल गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, पूर्व व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद भट्टराई, जिल्ला शिक्षा विकास समन्वय समितिका सदस्य देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई र नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै भौतिक संगै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयले तयार गरेको ५ वर्षे गुरुयोजनाको कार्यान्वयनको तेस्रो वर्षमा रहेको बताउँदै पूर्वाधार तर्फ यस वर्ष पनि भवन निर्माण गर्न लागिएको बताए । विद्यालयले गत वर्ष पनि नमुना विद्यालय अनुदान मार्फत भवन निर्माण गरेको थियो । कार्यक्रममा विद्यालय पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई सहितका पदाधिकारीहरुलाई दोसला ओढाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, समितिका सदस्य दुर्गा देवी रानाको स्वागत र शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम भएको थियो । जगपुजा नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद पौडेल र लक्ष्मीनारायण गुठीका कृतिनाथ रेग्मीले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update