Shittalpati
गुल्मीमा चार हजार सवारी साधन कारवाहीमा

रमेश विश्वकर्मा
गुल्मी,जिल्लामा चार हजार बढी सवारी कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा ४ हजार ३ सय ५० सवारी साधन कारवाहीमा परेका हुन् । ट्राफिक नियम उल्लङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी साधन अनुमति पत्र नलिई सवारी साधन चलाउने, मापसे गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्मा कारवाहीमा परेका सवारी साधन र चालकबाट ट्राफिक प्रहरीले २७ लाख २४ हजार ५ सय राजस्व संकलन गरेको छ । बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाईकल, लगायतका विभिन्न सवारी साधनहरु कारबाही परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविण आचार्यले जानकारी दिए । उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधन र चालकलाई कानुनी कारवाही गरिएको हो । पछिल्लो आठ महिनामा जिल्लामा २० वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परी १२ जनाको मृत्यु र ३२ जना घाईते भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

कुन सवारीबाट कति राजस्व संकलन :
पछिल्लो आठ महिनामा जिल्लामा सबैभन्दा धेरै मोटरसाईकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रविण आचार्यले जानकारी दिए । उनका अनुसार मोटरसाईकल १ हजार ९ सय ८ रहेका छन् । जसबाट १३ लाख ६ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै बस २ सय ४६ जसबाट १ लाख २५ हजार ५ सय, जिप/कार १ हजार ७ सय जसबाट १० लाख २ हजार, ट्याक्टर २ सय १५ जसबाट १ लाख २३ हजार, ट्रक २ सय ७५ जसबाट १ लाख ६४ हजार ५ सय र अन्य सवारी साधनहरु ४ वटा जसबाट ३ हजार राजस्व संकलन भएको हो ।

दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रम :
सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालयले सडकमै चालक, सहचालक र यात्रुहरुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका सबै विद्यालयहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको ट्राफिक प्रमुख आचार्यले बताए । विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिएको, ट्राफिक सम्बन्धी जनचेतना जगाउने खालका पर्चा पम्प्लेटहरु पनि टाँस्दै हिडेको प्रमुख आचार्यले जानकारी दिए । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्थानीय निकायहरुसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताईएको छ । ट्राफिक कार्यालयले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरस सम्बन्धी आम सर्वसाधारणहरुलाई समेत कार्यक्रम मार्फत सचेना जगाउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update