Shittalpati
कोरोना भाइरसका विषयमा तानसेनमा विद्यार्थीलाई जनचेतना

कृष्ण पोखरेल
पाल्पा,नेपाल नसिंङ्ग संघ तानसेन पाल्पाले विद्यार्थीहरुमा कोरोना भाइरसका विषयमा अन्तक्र्रिया गरी सचेतना अभियान गरेको छ । संघको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा मिलेनियम माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा सचेतना गराईएको हो । करीव २ सय विद्यार्थीहरुलाई कोरोना भाइरसको बारेमा जानकारी गराउदै युनाटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारकले कोरोना भाइरसबाट त्रासिद नभई सावधानी अपनाउन विद्यार्थीहरुलाई अनुरोध गरिन् । व्यक्तिगत सावधानी अपनाएमा कोरोना भाइरसबाट बच्न सकिने डा. कारकले बताईन् । खाना खाजा खानु अघि सावुन पानीले हात धुने, सावुन पानी नभएको स्थानमा हातको दुबैतर्फ घर्षण गराउने, सबैसंग हात नमिलाईकन नमस्ते मार्फत पुर्नमिलन गर्ने, खोक्दा हाछ्छ्यु गर्दा टिसु पेपर प्रयोग गरी डस्विनमा फाल्ने वा हत्केलाले छोप्ने, वासी सडेगलेका खानेकुरा नखाने, भिडभाडमा नजाने, रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने जस्ता सावधानी अपनाएमा कोरोना भाइरसबाट बच्न सकिने डा. कारकले बताईन ।

सचेतना कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्य, क्याम्पसका उप प्राध्यापक टंक भट्टराईले कोरोना भाइरस भनेको रुखा खोकी जस्तै फुलु भएकोले नआत्तिन, आ–आफ्नो क्षेत्रमा सचेतना फैलाउन विद्यार्थीहरुले सहयोग गर्नुपर्ने बताए । एक विद्यार्थीबाट आ–आफ्नो परिवार देखी वरपर छरछिमेक देखी सयौ व्यक्तिहरुमा सचेतना फैलाउने भएकाले विद्यार्थीहरु माझ जनचेतना कार्यक्रम गरिएको वक्ताहरुले जोड दिए ।

कार्यक्रममा नर्स ममता कोईरालाले कोरोना भाइरसको शुरुवाती अवस्था, विश्वमा पारेको प्रभाव, संक्रमण तथा मृत्यु, कोरोना भाइसरले संक्रमण गरेपछि शरिरमा हुने परिवर्तन, कोरोना भाइसरबाट बच्न सकिने सावधानीका उपायको बारेमा विद्यार्थीहरुलाई चित्र सहित जानकारी गराएकी थिईन । तानसेन नर्सिङ संघकी अध्यक्ष पवित्रा खनालको सभापतित्व, संघकी सचिव लक्ष्मी जिसी खातीको सञ्चालन र विद्यार्थी स्मृती शाक्यको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update