Shittalpati
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने

पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । बोर्डले बैशाख र जेठमा गर्ने गरी तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेको छ । विद्यार्थीको पढाइ पु¥याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी बोर्डको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकाले परीक्षा केहीपछि धकेल्ने निर्णय बोर्डको हो । कोरोनाका कारण शैक्षिक कार्यक्रम र परीक्षा धकेलिदै आएका छन् ।

बोर्डले परीक्षा कुन मोडालिटीमा गर्ने भन्ने कुराको निर्णय भने गरेको छैन् । कोभिडको कारण विद्यालय बन्द भएकाले अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गरिने बोर्ड स्रोतले जनाएको छ । यस्तै बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने समेत तयारी थालेको छ । संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update