Shittalpati
जिससको सिफारिस प्रति बगनासकालीको आपत्ति

पाल्पा, जिल्ला समन्वय समिति पाल्पाको सिफारिस प्रति बगनासकाली गाउँपालिकाले आपत्ति जनाएको छ । जिससले जिल्लामा प्रक्रिया पूरा गरेर रम्भा गाउँपालिकाले पहिलो बालमैत्री गाउँपालिका बनेको आशयको पत्र दिएपछि बगनासकालीले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।

बगनासकालीका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती र फोकल पर्सन प्रमुख गुनाराम खनालले संयुक्त रुपमा विज्ञप्ती जारी गरी जिससको सिफारिस आपत्तिजनक रहेको बताएका छन् । आफूहरूले बालमैत्री घोषणा गर्ने ताका जिल्ला समन्वय समिति, प्रदेश सरकारसँग अनुमति लिन नपर्ने प्रावधान रहेको विज्ञप्तीमा जनाएको छ । आफूहरूले एक वर्षअघि बालमैत्री घोषणा गरेको र जिल्ला समन्वय समितिले समेत अनुगमन गरेको तर प्रतिवेदन नदिएको बरु रम्भा गाउँपालिकालाई पहिलो भनेर सिफारिस गर्नु आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले उक्त कार्य सच्याउन जिसससँग अपिल गरेको छ ।

उसले विज्ञप्तीमा भनेको छ ‘स्थानीय तह घोषणा कार्यपत्रको लागि मुख्य मन्त्री तथा मन्त्रीपरषद्को कार्यालयबाट अनुमती लिनुपर्ने भन्ने व्यवस्था हाल नयाँ बनेको घोषणा कार्य विधिमा भएको र सोही अनुसार रम्भा गाउँपालिकाले २०७८ पुस १९ मा बालमैत्री स्थानीय तह घोषणा गरेको देखिन्छ, तर एक वर्ष अघि २०७७ चैत्र १४ मा घोषणा भइसकेको अर्को स्थानीय तह हुँदा हुँदै पहिलो भनि घोषणा गर्नु, जिससले आफुले निरीक्षण तथा अनुगमन गरेर पनि बगनासकाली गाउँपालिकालाई अनुगमन प्रतिवेदन नदिनु र रम्भा गाउँपालिकालाई विधिवत् पहिलो स्थानीय तह घोषणा प्रयोजनार्थ अनुमती दिनका लागि सिफारिस गर्नु नितान्त आपत्तिजनक छ, यस्ता कार्यप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएकाले यस कार्यलाई सच्याउनको लागि हार्दिक अपिल गर्दछौं ।’

बालमैत्री घोषणा भएका बगनास र रम्भा गाउँपालिकाले आफु जिल्लाकै पहिलो दावी गर्दै आएपछि यो विषयले चर्चा पाएको हो । २०७७ चैत १४ गते बगनासकाली गाउँपालिकाले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । फेरी २०७८ पुस १९ गते रम्भा गाउँपालिकाले जिल्लाकै पहिलो बालमैत्री गाउँपालिका भनेर घोषणा गरे पछि यो विषयको अहिले सर्वत्र बहस समेत चलेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update