Shittalpati
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा

रामचन्द्र रायमाझी

पाल्पा, श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले ११ औं साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा मनाएको हो ।

सधारण सभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले संघले श्रमिको हकहितमा गरेका कार्यक्रहरु प्रशंसनिय रहेको बताए । उनले संघको कार्य अन्य संघसंस्थाहरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष महर्जनले पाल्पाको पर्यटन विकासका लागि निर्माणकर्मीहरुले समेत ध्यान दिनुपर्ने बताए । विशिष्ट अतिथि पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादवसिं कार्कीले जिल्लाका सबै पालिकामा संगठन विस्तार गर्न निर्माणकर्मी संघलाई आग्रह गरे । कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार माधव नेपाल, कानुनी सहल्लाहकार शिवप्रसाद देवकोटा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले संघले श्रमिक वर्गकका लागि गरेको काम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष सुरेश कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रस्तुत प्रतिवेदनमा श्रमिक वर्गहरुको समस्यामा लागि परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा श्रमिक वर्गको समस्याप्रति संघ कटिवद्ध रहेको पाइएको हो । संघले कोभिडबाट प्रभावित मजदुर र श्रमिक वर्गहरुका लागि खाद्यान्न राहत उपलब्ध गराउनेदेखि कोभिडका कारण ज्यान गुमाएका परिवारलाई राहत दिएको प्रतिवेदनमा उल्लेख छ । निर्माण कार्यलाई गुणस्तरीय र भूकम्पीय दृष्टिबाट मजबूद भवन निर्माण गर्नुको साथै संघमा आवद्ध रहेका श्रमिक वर्गको हकहितका विषयमा संघले महत्वपूर्ण काम गरेको पाइन्छ । उसले यति मात्र होइन श्रमिकको स्वास्थ्यपचार, दुर्घटनाबाट हुने मृत्युबाट परिवारमा पर्न जाने समस्या, सुत्केरी पोषणभत्ता, एकल महिला भत्ता, वृद्धाभत्ता, श्रमिकहरुको सामूहिक दुर्घटना बीमा, श्रमिक तथा निर्माणकर्मीका सन्तानलाई शिक्षाको लागि छात्रवृत्ति लगायतका राहतका कार्यक्रमलाई समेत उच्च महत्वका साथ लिएको छ । अध्यक्ष कर्माचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा श्रमिक तथा निर्माणकर्मीमा दुर्घटना तथा शारिरीक अस्वस्थताबाट हुने अशक्तता, हृदयघात, मृगौला खराब, क्यान्सर र पक्षघात जस्ता जटिल रोगबाट आउने समस्याका लागि औषधि उपचार खर्चका लागि समेत संघले व्यवस्था गर्दै आएको उल्लेख छ । श्रम ऐन २०७४ अनुसार हरेक श्रमिक दुर्घटना भई मृत्यु भएको खण्डमा श्रमिकलार्ई क्षतिपूर्तीबापत ७ लाख भुक्तानी दिने कानुनी प्रावधान भएकाले संघले पनि श्रमिक, निर्माणकर्मी र कर्मचारीको दुर्घटना बीमा गरिदिएको छ । संघका अध्यक्ष कर्माचार्यका अनुसार ९ सय ७७ जना श्रमिको ७ लाखका दरले ६८ करोड ३९ लाख, ६७ जना निर्माणकर्मीहरुको १० लाख र ३ जना कर्मचारीको १० लाख बराबरको दुर्घटना बिमा गरिदिएको छ । संघले अहिलेसम्म १३ जना एकल महिला श्रमिकका लागि २ लाख ७२ हजार ५ सय एकल भत्ता, तीन जना जेष्ठ नागरिकलाई ५१ हजार वृद्ध भत्ता दिएको छ । आगामी दिनमा पनि यि कार्यक्रमहरुलाई निरन्तरता दिइएको संघका अध्यक्ष कर्माचार्यले बताए । श्रमिक वर्गको क्षेत्रमा संघले उल्लेखीय काम गर्दै आए पनि तानसेन नगरपालिकाबाट नक्सा पासको झन्झटिलो प्रक्रियाका कारण भवन निर्माणको काम कम हुँदै जाँदा निर्माणकर्मी र श्रमिकको पेशा नै धरापमा परेको अध्यक्ष कर्माचार्यले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा संघले संस्थालाई आर्थिक रुपमा सवल बनाउन सहयोग गर्ने सुरेश कर्माचार्य, हुमराज बस्याल, भरतबहादुर विक, ओमबहादुर विक, वीरबहादुर गाहा, प्रेमबहादुर बूढा, लोकबहादुर गाहा, देव बहादुर राना, मीनबहादुर कुमाल र नारायण समर खातीलाई सम्मान गरेको छ । यस्तै संघले सोही अवसरमा उत्कृष्ट निर्माणकर्मी, एसईइ र प्राथमिक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने उत्कृष्ट निर्माणकर्मीहरुमा वीरबहादुर गाहा, मीनबहादुर कुमाल, जितबहादुर पुन रहेका छन् । श्रमिक तथा निर्माणकर्मीका छोराछोरीहरुबाट एसईइमा उत्कृष्ट अंक ल्याउनेहरु संगीता विश्वकर्मा, अनुरुप सारु, मुकेश गाहा, निकिता विश्वकर्मा, मञ्जु कुमारी थारु प्राथमिक तहतर्फ दिपशा सुनार, सिजन विकलाई संघले सम्मान गरेको हो । यस्तै संघले कोभिडका बेला संक्रमितहरुको उद्दारमा खटिएका पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादवसिं कार्की र समयमा नविकरणका लागि भुक्तानी गर्ने विजय कुमार बैधलाई पनि सम्मान गरेको छ । कार्यक्रममा संघका कोषाध्यक्ष प्रेम बूढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष सुरेश कर्माचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गणेश बहादुर रावल क्षेत्रीको स्वागत, सचिव हुमराज बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update