Shittalpati
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया

हाम्रासंवाददा

गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा ल्याउन लागिएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया लाग्न थालेको छ । प्लान्ट निर्माणको काममा ढिलाई भएपछि सामानमा खिया लाग्न थालेको हो । अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट निर्माण कार्य अगाडि बढाइए पनि काम समयमै नहुँदा यहाँ प्रयोग हुने सामग्रीहरुमा खिया लाग्नुको साथै जीर्ण बन्दै गएका छन् ।

कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव नहोस् भनेर विभिन्न संघ संस्था, सरकार र व्यक्तिबाट सहयोग जुटाएर अक्सिजन प्लान्ट निर्माणको काम अगाडि बढाइए पनि लामो समय हुँदा सम्म पनि सञ्चालनमा आउन सकेको छैन् । काममा भएको ढिलासुस्तीका कारण प्लान्ट समयमै सञ्चालन हुन नसकेको हो । अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन नसक्दा सामानमा खिया लाग्न पुगेको छ । अक्सिजन प्लान्ट राख्ने भवन बनाउन गुल्मी उद्योग वाणिज्य संघले जिम्मा लिएको थियो ।

भवन बनाउने जिम्मेवारी संघले लिए पनि समयमै काम नसक्दा अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई भएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेले बताए । काममा ढिलाई हुँदा अक्सिजन प्लान्टका मेसिनहरुमा खिया लागिसकेको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष पाण्डेकोे भनाई छ ।

अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु आएका थिए । तर राख्ने ठाउँको कामसम्पन्न नहुँदा ल्याइएका मेसिनहरु वर्षात्को पानीमा भिजेकाले अहिले खिया लाग्न थालेका छन् । जसले गर्दा मेसिनहरुले काम नगर्ने हुन की भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाई छ । भवन निर्माणको जिम्मा लिएको संघका महासचिव ताराप्रसाद भुसालले भने आफुहरुले जिम्मा लिएको काम जति सम्पन्न गरेको दावी गरे । उनले अब बाँकी रहेको काम अस्पताल विकास समितिले गर्नुपर्नेमा जोड दिए । संघले अक्सिजन प्लान्ट सञ्चालन गर्ने जिम्मा नलिएको र भवन बनाउने काम सम्पन्न गरिदिएको भुसालले बताए । जिल्लामा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिण्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो । सरकारबाट प्राप्त भएको अक्सिजन प्लान्ट मेसिन सञ्चालनमा आउन नसक्दा सामग्रीमा खिया लागे पछि बिग्रीने सम्भावना बढेको पाण्डेको भनाई छ । जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समयसम्म सञ्चालनमा आउन नसक्दाँ प्रश्न उठाएका छन् । प्लान्ट निर्माण गर्न नागरिकस्तरमा गत बैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलो पटक अक्सिजन अभियान सञ्चालन गरेर विभिन्न माध्यमबाट सहयोग उठाउदै कोरोना कहरको समयमा मानिसको ज्यान बचाउन निकै महत्वपूर्ण काम गरेको थियो । तर काम समयै नभएपछि भने महासंघको काम प्रति प्रश्न उठ्न थालेको छ । अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले लामो समयसम्म सञ्चालनमा आउन नसक्दाँ प्रश्न गरेको नेपाल पत्रकार महासंघ गुल्मीका निर्वतमान अध्यक्ष नवराज भुसालले बताए । धेरै पहिला जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आउनु पर्ने भुसालको भनाई छ । प्लान्ट निर्माणका लागि आएका सामग्री सुरक्षित तरिकाले राख्न नसक्नु दुखद् रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

– पत्रकार अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update