Shittalpati
स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने

हाम्रा संवाददाता
पाल्पा, ग्रामीण भेगमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने आवाज उठेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा सेवाप्रवाह प्रभावकारी हुन नसकेको आरोप लागि रहेका बेला पाल्पा बगनासकाली गाउँपालिकाका स्थानीयहरुले भने ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेवीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरुलाई डाक्टरको रुपमा हेरिनुपर्ने बताएका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बगनासकाली गाउँपालिका १ चिर्तुङ्गधारा स्वास्थ्य संस्थामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्तहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने आवाज उठाएका हुन् । कार्यक्रमका सहभागीले आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने शिलशिलामा वडाभित्रका नागरिकलाई स्वास्थ्य सन्देश फैलाउने काममा स्वास्थ्य स्वयंसेविकाले प्रभावकारी भूमिका खेलेकाले उनीहरुलाई गाउँका डाक्टरको रूपमा हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका न्यायिक समिति सदस्य कूलप्रसाद ढुङ्गानाले स्वास्थ्य क्षेत्रमा डाक्टरले सरह स्वास्थ्य स्वयंसेविकाले काम गर्दै आएको बताए । उनले स्वयंसेविकाको योगदान डाक्टरकै सरह भएपनि उनीहरुलाई अझै पनि भोलिन्टियरका रुपमा लिइनु गलत भएको धारणा व्यक्त गरे । सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई स्वयंसेविकाहरूले प्रकावकारी काम गरेर उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उनले उर्जा जगाएर सामाजिक सेवामा स्वयंसेविहरुलाई थप सक्रिय बनाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । १ का वडा अध्यक्ष सोमबहादुर झेंडी, वडा सदस्य मानबहादुर राना, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, स्वास्थ्य चौकीका कर्मचारी चम्पा ढुङ्गाना, एमआईएस अपरेटर भोजराज भट्टराई लगायतले महिला स्वयंसेविकाहरूले बाल तथा मातृसेवामा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे । कार्यक्रममा स्वयंसेविकाहरू मथुरा ढकाल, दुर्गा राना, पेमा चिदीले कोभिड नियन्त्रण, बाल तथा मातृ मृत्युदर घटाउन समुदायमा स्वयंसेविकाको उल्लेख्य भूमिका हुने भन्दै स्थानीय तहले आवश्यक सहजीकरण गर्दै उत्प्रेरणा जगाउने कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको छ ।

सन् १९९० तिर सफा–स्वच्छ खानेपानी बारे चेतना फैलाउने उद्देश्यले बडास्तरमा छनोट थालिएपछि नेपालमा भिटामिन ‘ए’ र पोलियो विरुद्धको काममा सफलता मिलेको थियो । स्वास्थ्य स्वयंसेविकाहरुको पहलमा अहिले गाँउभरीका गर्भवती महिला पत्ता लगाएर तिनीहरुलाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने अभियाननै चलाइएको छ । गाँउघरमा स्वास्थ्य सेवाका मेरुदण्ड बनेका उनीहरूले खासै सहयोग भने राज्यबाट पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य स्वयंसेविकाहरुको पहलमा मातृ तथा शिशु मृत्युदर कम गराउन निक्कै सहयोगी भएपनि राज्यको तवरबाट उचित सेवा सुविधा नभएको स्वयंसेविहरु बताउँछन् । –पत्रकार भोजराज भट्टराईको सहयोगमा

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update