Shittalpati
दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान

कृष्ण पोखरेल
पाल्पा,  लुम्बिनी प्रदेशमा दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । सुरक्षित प्रदेश, सुरक्षित यात्रा भन्ने अभियानाका साथ सवारी दुर्घटना न्यूनिकरण गरी जनताको जिउ धनको सुरक्षा गर्ने अभियानका साथ लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पाल्पा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको हो ।

दिनहुँ सवारी साधनको संख्या बढ्दै गएको समयमा सवारी दुर्घटना पनि बढ्दै गएकाले क्षति कम गर्न प्रदेश सरकारले सरोकारवाला निकाय बिच अन्तक्र्रिया गरी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको हो । तीन वटै सरकारबाट सडक निर्माणका लागि प्रशस्त मात्रामा बजेट विनियोजन भइरहेको, सवारी साधनको संख्या प्रत्येक वर्ष दोब्वरले वृद्धि भएको, दुर्घटनामा जिउधनको क्षति बढेकोले अवस्थामा, सबैमा जनचेतना जगाउन सवारी धनी, चालक, सहचालक, सर्वसाधारण, नागरिक समाजका अगुवा, ट्राफिक प्रहरी, मन्त्रालयका विज्ञहरु बिच तानसेनमा अन्तक्र्रिया भएको हो । लुम्बिनी प्रदेशका आन्तरिक तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशमा बढ्दो सवारी चापलाई व्यवस्थित, सुरक्षित र भरपर्दाे बनाउँदै जनतामाझ सुरक्षित यातायात गराउन सरोकारवाला निकायसँग जिल्ला जिल्लामा सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए ।

प्रदेशमा पहाड र तराईका जिल्ला बराबर भएकाले भूगोल अनुसारका सडक संरचनादेखि सचेतना र सावधानी जरुरी रहेको मन्त्री शर्माले जोड दिए । दुर्घटना अप्रत्यासित रुपमा हुने भएकाले दुर्घटना पछि जिउधनको सुरक्षाका लागि अपनाउनुपर्ने कुरा, उपचार तथा कानुनी कुराहरुको सर्वसाधारणहरुले समेत जानकारी राख्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । प्रदेश सांसद गीता थापा, मन्त्रालयका उपसचिव दामोदर भण्डारी, ट्राफिक प्रहरी नायक उपरीक्षक श्री मोहनबहादुर खाँण, प्रहरी नायक निरीक्षक हुमानन्द खनालले लुम्बिनी प्रदेशमा ट्राफिकको अवस्था, नीति नियमको बारेमा प्रशिक्षण दिएका थिए । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकले गरेका थिए । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update