Shittalpati
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

हाम्रा संवाददाता
पाल्पा, जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार तानसेनमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको हो । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका ४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको छ । मंगलबार साँझ बाथरुममा अचेत अवस्थामा भेटिएका उनलाई युनाइटेड मिसन अस्पताल पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । बाथरुम छिरेका चौधरी लामो समयसम्म पनि ननिस्केपछि घरधनीले हेर्दा अचेत अवस्थामा देखेका थिए । चुकुल लगाई बाथरुम भित्र अचेत अवस्थामा रहेको देखिपछि घरधनीेले प्रहरीलाई खबर गरी उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पु¥याए लगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सप्तरी गोदेबरसाइन नगरपालिका १० का चौधरी विगत लामो समयदेखि तानसेन स्पेश टाइम्समा काम गर्दै आएका थिए । उनको शवलाई बुधबार आफन्तको जिम्मा लगाईएको छ ।

यस्तै जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो । मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेदेखि घरबाट कसैलाई खबर नगरी निस्किएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । उता रैनादेवी छहरा गाउँपालिका –७ जोगदमारको पाखापानी सामुदायिक जंगलमा एक व्यक्ति रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अर्घाखाँची पाणीनी गाउँपालिका ९ का ३० वर्षीय लक्ष्मण पोखरेल रुखमा झण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनिमा डेरा गरी बस्दै आएका पोखरेल मंसिर १ गते घरबाट कसैलाई पनि जानकारी नगराई हिडेको बुझिएको छ । जंगलमा रहेको रोहीनीको रुखमा झण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल नजिकै पोखरेलले प्रयोग गरेको बा. ७९ प.५३१९ नम्वरको मोटरसाईकल समेत फेला परेको प्रहरीले जनाएको छ । यि तीन वटै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update