Shittalpati
आरनका लागि कच्चापदार्थ र कामदार अभाव

कृष्ण दर्नाल (रासस) :
पाल्पा, पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।

युवाको विदेश पलायनका कारण पनि आरन व्यवसायमा युवा पुस्ताको आकर्षण हुन सकेको छैन । अधिकांश कृषि औजार जिल्ला बाहिरबाट आर्यात हुन थालेसँग आरनबाट उत्पादित सामग्रीहरुको किनबेचमा समस्या भएको व्यवसायी खुमबहादुर विश्वकर्माले बताए । पाल्पा बगनासकाली गाउँँपालिका–६ टोक्सेका खुमबहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गरे । गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा मागअनुसार कृषि औजार पु¥याउन समस्या थिएन । पछिल्ला वर्षमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको विश्वकर्माले बताए । आरनमा हँसिया, कोदालो, फाली, ओदान, खुकुरी, लगायतका औजार उत्पादन हुँदै आएको थियो । आरन व्यवसायमा कडा श्रम गर्नुपर्ने हुन्छ । त्यसैले युवा पुस्ताको आकर्षण हुन नसकेको व्यवसायी भोजबहादुर विश्वकर्माले बताए । युवाहरुको आकर्षण बढाउन सरकारी अनुदान तथा प्रोत्साहनका कार्यक्रम आवश्यक छ । अनुदान प्राप्तिमा दलित समुदायका व्यवसायी भने वञ्चित छन्  । दलित समुदायका परम्परागत सीपलाई आधुनिकीकरण गर्न सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउन आवश्यक रहेको विश्वकर्माले बताए ।

मल्लकालीन समयमा विश्वकर्मा जाति कृषि उत्पादनका क्षेत्रमा प्रयोग हुने फलामका औजार तथा हातहतियारहरु उत्पादन गर्दै आएका थिए । यसले स्वदेशमा फलामको उचित रुपमा प्रयोग हुने र रकम विदेशीनबाट रोकिएको थियो । तर स्वदेशमा रहेका आरन व्यावसायिक बनाउन नसक्दा त्यस्ता सामग्री आयात गर्नुपर्ने बाध्यता छ । बगनासकाली गाउँपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरी कृषि उत्पादन गर्ने रणनीति लिएको छ । यसले स्थानीय स्तरमा रहेका आरन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्नेछ । गाउँपालिकाले परम्परागत रुपमा सञ्चालित आरनलाई व्यवस्थित गर्न सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update