Shittalpati
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !

काठमाडौं, नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गरेकी हुन् ।

यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, हाइजम्पतर्फ उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ उत्कृष्ट हुने कुकुर ‘कालु’ लाई पुरस्कृत गरिएको छ । सोही अवसरमा यसवर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत एसएसपी गुरुङले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विष्पोटक पदार्थको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धारलगायत कार्यको प्रदर्शनी गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोजकार्यमा तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ ।–रासस

 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update