Shittalpati
बजारमा हिँड्ने बढे, किन्ने बढेनन्

रामचन्द्र रायमाझी

पाल्पा, नेपालीहरुको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । तर गत वर्षदेखि कोरोना महामारीले थिलो थिलो परेको बजार संक्रमण कम हुँदै गएपछि मानिसहरुको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरु बताँउछन् ।

पाल्पा तानसेनका प्रमुख बजार क्षेत्र तेस्रो सडक, हुलाकचोक,बसपार्क,नारायणस्थान, शितलपाटी लगायतका बजार क्षेत्रमा दशैंको चहलपहल ह्वात्तै बढेको देखिन्छ । कोरोना महामारीले थलिएको बजारमा दशैंको चहलपहल बढेपनि किनमेल गर्ने ग्राहकमा उत्साह भने नदेखिएको व्यवसायीहरु बताउँछन् । महामारीले निम्त्याएको बढ्दो बेरोजगारी र आर्थिक अभावका कारण उपभोक्तामा चाडपर्वको खासै प्रभाव नपरेको तानसेन भगवतीटोलका देवेन्द्रबहादुर रायमाझीको बुझाई छ । ‘सडकमा चहलपहल बढेको छ ।

बजारमा चहलपहल देखिए पनि व्यापारमा भने त्यस्तो छैन । यतिबेला व्यापार बढ्छ भन्नेमा हामीमा ठूलो आशा थियो,’ स्थानीय किराना व्यवसायी विष्णु गाहा भन्छन्,‘तर त्यसो भएन ।’ कोरोना महामारी अघिका वर्षहरुमा यतिबेला लत्ता कपडा, सुन चाँदी, खाद्यान्न किनमेल गर्नेको भीड हुन्थ्यो । चाडपर्वमा ग्राहकसँगै व्यवसायीहरु पनि उत्साहित हुन्थे । तर यो वर्ष पसलमा फाट्टफुट्ट मात्रै ग्राहक आउने गरेको तानसेन मखनटोलका फेन्सी व्यवसायी विवेक राना बताउँछन् । उनी भन्छन्, ‘मानिसको चहलपहल छ तर व्यापार छैन ।’ महामारीले गर्दा नै व्यापार नभएको उनको बुझाई छ । मानिसहरु आएर सामान हेर्ने तर नकिनिदिने उनले बताए ।

कोरोना महामारीका कारण बजारमा सामानको मुल्यवृद्धि भएको ग्राहकहरु बताँउछन् । ग्राहक बजार पुग्दा पुरानै सामानहरुको मुल्य नै बढेर आएको बताउँछन् । गीता पुनः दशैंको लागि सामान किनमेलको लागि बजार पुग्दा सामानको मूल्य बढेको सुनेर अचम्मित भइन् । दशैंको लागि भाँडाकुँडादेखि उनले कपडासमेत सपिङ गरेकी थिइन् । तर अड्कलेर ल्याएको रकमले उनलाई सामान किन्न पैसा नपुगेको बताँउछिन् । उनले भनिन्, ‘पहिलाभन्दा सामानको मूल्य धेरै महँगो छ । पहिलेको भन्दा दश गुणा महंगो पाएँ ।’ पुनले घरायसी सामानको मूल्य आकासिएको दाबी गरिन् । उनले भनिन्,‘महामारी अघि एक हजारमा किनेको कुक्कर अहिले १८ सय पुगेको छ ।’

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update