Shittalpati
तोके भन्दा बढी भाडा लिए कारवाही

रामचन्द्र रायमाझी
पाल्पा, दशैँको अवसर छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पार्दै क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेहरुलाई कारवाही गरिने बताएको हो । यहाँ ट्राफिक प्रहरीले यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने सवारीलाई कारवाही गरेको छ । चाडपर्वको बेला यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्य रहेको जिल्ला ट्राफिक कार्यालले जनाएको छ । महान पर्वहरुको अवसरमा यस्ता क्रियाकलाप बढ्ने भएकाले मुख्य राजमार्ग तथा साहायक राजमार्गमा गुड्ने सवारी साधनको कडा चेक जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले बताए । उनले भने ‘सरकारले तोकेभन्दा बढी भाडा लिने सार्वजनिक यातायातलाई ‘अन द स्पट’ कारवाही गरिने छ ।’ चाडपर्वमा यात्रुसँग तोकेभन्दा बढी भाडा लिएको पाइए तत्काल जरिवाना तिराउने उनले बताए । ट्राफिक प्रमुख ज्ञवालीले भने, ‘बढी भाडा लिन पाइँदैन, यदि त्यस्तो पाइएमा हामी तुरुन्तै कारवाही गर्छौ ।’ तोकिएको भन्दा बढी भाडा लिएको व्यापक गुनासो आएपछि ट्राफिक कार्यालयले चेंक जाँच गरी नियम विपरित गतिविधि गरेका सवारी साधनलाई कारवाही गरेको छ । केही समय अघि ट्राफिक प्रहरीले सरकारले निर्धारण गरेको भाडा दर भन्दा बढी भाडा लिएको भन्दै उजुरी परेपछि बुटबलबाट बाग्लुङ्गको ढोर पाटनका लागि छुटेको बसबाट १७ हजार २ सय रुपैयाँ यात्रुहरुलाई फिर्ता गराएको ट्राफिक प्रमुख ज्ञवालीले बताए । उनले भने ‘प्रति यात्रु २ देखि ३ सय रुपैयाँ बढी उढाएको भन्ने जानकारी आयो । फोनबाट आएको जानकारी अनुरुप जाँच गर्दा भेटियो, यात्रुलाई रकम फिर्ता गरायौं ।’ ट्राफिक नियम ऐन नियम विपरित सवारी सञ्चालन गर्ने सवारी चालक पनि कारवाहीको दायारामा आएका छन् ।

यस विषयमा पटक–पटक प्रशिक्षण गर्दा पनि नियम विपरीत गुडाउनेको सख्यामा कमी नआएको बताउदै प्रमुख ज्ञवालीले भने ‘ट्राफिक प्रहरीले गर्ने जरीवाना रकम कम भएर पटक–पटक गल्ती गर्नेको सख्या बढेको हो । ’ ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको अवधिमा १५ हजार २१ वटा सार्वजनिक तथा निजी सवारीका साधनहरुबाट ८८ लाख ५९ हजार ५ सय रकम संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update