Shittalpati
पुल नहुँदा जोखिमपूर्ण यात्रा

हाम्रा संवाददाता

गुल्मी, साउन  जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग भित्रका विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यस सडक खण्ड भित्र पर्ने ५ वटा खहरे खोलाहरुमा सवारीसाधन तथा सर्वसाधारणका लागि पुलको व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोला घटेर बाटो सहज भए पनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोरदोहोर गर्न बाधा पुग्ने गरेको छ । यस क्षेत्रको बाटो आफैंमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ । खहरे खोलाहरुमा बर्खाको समयमा बाढी आउने हुनाले यहाँबाट आवजावत गर्ने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नुपरेको छ ।

सदरमुकाम तम्घासबाट पश्चिमतर्फ अतिव्यस्त मानिने मदनभण्डारी राजमार्ग भएर विभिन्न स्थानमा पुग्ने सडकमा खहरे खोलाहरु रहेका छन् । यहाँ तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर सडक कालोपत्र गरिएको भए पनि खहरे खोलाहरुमा पुल नहुँदा यहाँका नागकिरहरुले जोखिम मौलेर यात्रा गर्न बाध्य छन् ।

पुल नहुँदा वर्षातको समयमा यहाँका नागरिकहरुले जिल्ला सदरमुकाम तम्घास आउ–जाउ गर्न निकै सास्ती खेप्दै आएका छन् । राजमार्गका गुर्वा, हुलाके, धनार्जी, चौरासी र सिमलटारी क्षेत्रका खहरे खोलामा पुल नबन्दा साना–ठूला सवारी साधानहरु र पैदल यात्रुहरुले दिनहुँ सास्ती खेप्नु परेको स्थानीयहरु बताउँछन् ।

अहिले वर्षातको समयमा खोला ठूलो भएकाले साना सवारी साधानहरु खोलामा डुब्ने गरेका छन् । वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम बनेको छ । यहाँका खहरे खोलाहरुमा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुई तीन दिन लगाएर जान बाध्य छन् । करोडौं रुपैयाँले सडक पक्की भएपनि बिचमा पुल नबन्दा बाटो बनेजस्तो नभएको जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डेले बताए । वर्षातमा यात्रागर्दा वर्षातको पानीको बाटो हेरेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । पुल नभएकै कारण कोरोनाका बिरामीहरु खोला तर्न नसकेपछि बाटोमै मृत्यु समेत हुने गरेको पाण्डेले बताए । वर्षातसँगै कोरोनाका बिरामी, सुत्केरी लगायतका बिरामीहरु लिएर हिड्नको निम्ति निकै समस्या परेको स्थानीय प्रर्मिला कार्कीले बताइन् । उनले भनिन्, ‘खोला ठूलो हुन्छ, तर्न सक्ने कुनै विकल्प हुँदैन, कम्तीमा पनि सर्वसाधारण वारपार गर्न झोलुंगेपुल तत्काल बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ बाढीले खोलामा वारपार गर्ने सवारीसाधनलाई बगाउने, बीचमै अड्किएर जोखिम र झन्झट व्यहोर्नुपरेको सवारीचालकहरूको गुनासो छ । वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । सडक कालोपत्रे भयो भनेर आउनेहरू खोला तर्न नसक्दा समस्यामा पर्ने गरेका छन् ।यस क्षेत्रमा वर्षातको समयमा सधैं यस्तै समस्या आउने गरेकाले त्यसमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा रेसुङ्गा नगरपालिका –२ का झबिन्द्रलाल भण्डारीले बताए । राजमार्गमा पर्ने खहरे खोलाले वर्षेनी साना सवारी साधनहरु बगाउने गरेको उनको भनाई छ । राजमार्गमा पक्की पुल नहुँदा वर्षातमा दैनिक उपभोग्य सामग्री लैजानको निम्ति समेत समस्या परेको व्यवसायी रेमलाल पाण्डेले बताए । वर्षातमा सामग्री लैजाँदा सामानहरु कैयन पटक खोलामा डुबानमा पर्ने गरेको पाण्डेले बताए । मदन भण्डारी राजर्माग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा ५ वटा स्थानमा पक्की पुल बन्नका लागि ठेक्का हुने बताए । पक्की पुल बनाउनको निम्ति सबै प्रक्रियाहरु अगाडि बढिसकेको मिश्रको भनाई छ । –अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update