Shittalpati
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै

पाल्पा, पाल्पामा शनिवार शिक्षक र कर्मचारीहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । शिक्षकहरुको आन्दोलन पछि जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।

सरकारले शिक्षक तथा प्राध्यापकहरुलाई दोस्रो प्राथमिकतामा राखे पनि पाल्पामा तेस्रो प्राथमिकतामा राखिएको भन्दै यहाँका शिक्षक तथा प्राध्यापकहरुले आन्दोलन गर्दै आएका थिए । उनीहरुले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यवस्थापन समितिबाट कोरोना खोप वितरणमा विभेद भएको भन्दै सबै शिक्षाका गतिविधिहरु बन्द गरेर आन्दोलनमा उत्रिएपछि बाध्य भएर स्वास्थ्य कार्यालय पाल्पाले शनिबारदेखि खोप उपलब्ध गराउन लागेको हो ।

उनीहरुलाई भेरोसेल खोप लगाउने तय भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । उनका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी गरी ४ हजार २ सय २७ जनालाई खोप दिने कार्यक्रम रहेको छ । यो संख्या ५० वर्ष मुनी उमेर समूहको रहेका छन् । यस अघि ५० वर्ष माथिकाले खोप लगाइसकेकाले ५० वर्ष मुनी उमेर समूहका शिक्षक, कर्मचारीहरुलाई खोप दिईने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसका लागि सबै पालिकाबाट तथ्यांक संकलन गरी काम सुरु गरिएको छ ।

केन्द्र सरकारले शिक्षकहरुलाई कोरोना खोपको प्राथमिकतामा राखेपनि जिल्लास्तरबाट तेस्रो प्राथमिकतामा राखेपछी यहाँका शिक्षकहरु एक हप्ताअघिदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले कोरोना खोप नपाउँदासम्म कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी नहुँने बताउँदै आएका छन् । पाल्पामा सामुदायिक, निजी विद्यालयका शिक्षक, कर्मचारी गरी ५ हजार ७ स ६१ जना कार्यरत रहेका छन् जसमा १ हजार जनाले विभिन्न उमेर समूहबाट कोरोना खोप लगाएपनि ४ हजार ५ सय शिक्षक तथा कर्मचारी बाँकी रहेको जनाइएका छन् । पाल्पामा कोरोना सक्रमणबाट १० जना शिक्षकले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update