Shittalpati
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानार्कषण

कृष्ण पोखरेल

पाल्पा, जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरुको समस्या समाधान गर्न ध्यानार्कषण गराएको छ । संघठनले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई भूमि व्यवस्था सम्वन्धी आयोग पुनः सक्रिय बनाई काम थाल्न अनुरोध गरेको छ ।

पाल्पाका १० वटै स्थानीयतहमा भूमिहिन, अव्यवस्थित बसोवासको अत्याधिक समस्या रहेको, तानसेन, रामपुर, माथागढी, बगनासकाली, तिनाउँ, रैनादेवी छहरा, निस्दीका पालिकाहरुमा यो समस्या उच्च रहेको अवस्थामा जिल्लास्तरीय भूमि व्यबस्थापन कार्यालयबाट लगत संकलन लिई अन्तिम टुङ्गो लगाउने समयमा आयोग र जिल्ला स्थित कार्यालयबाट भएका सम्पूर्ण काम कारवाही रोकी, संस्था नै खारेजले समस्या परेको प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघठनले ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ ।

यो जिल्लाको मात्र नभई देशभरी १७ लाख नागरिकहरुको समस्या भएकाले सरकारले उच्च प्राथमिकता दिएर समस्या समाधान गर्नुपर्ने मञ्चका केन्द्रिय सदस्य दलबहादुर रास्कोटीले बताए । जिल्लामा करीव १७ हजार अव्यस्थित बसोवास रहेको रोमबहादुर रानाले बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा समितिका कोषाध्यक्ष दिनेश कुमार सिंजाली, सदस्य टिकाबहादुर थापा, पूर्णबहादुर पराजुली र सल्लाहकार दधिराम भट्टराईको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीलाई ध्यानार्कषण पत्र बुझाउँदै समितिका केन्द्रिय सदस्य दलबहादुर रास्कोटी ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update