Shittalpati
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने

हाम्रा संवाददाता
पाल्पा, कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघिको निषेधाज्ञा जेठ ४ गते राती १२ बजेपछि सकिदै छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैंठकले संक्रमण समुदायमै फैलिएपछि जेठ ४ गते मंगलबार राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको छ । बैठकले निषेधाज्ञालाई थप कडाई गर्ने जनाएको छ ।
यो समयमा अत्यावश्यक काम बाहेक कुनैपनि मानिस घर बाहिर निस्कन पाउने छैनन् । सडक तथा बजारका चोक चोकमा प्रहरी परिचालन गरिने छ । निषेधाज्ञा अवधिमा खाद्य पसल दैनिक दुई घण्टा मात्र खुला रहने छन् । बिहान ७ देखि ९ बजेसम्म खाद्य पसल खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य कुनै पनि पसल बन्द खुला गर्न पाइने छैन । विवाहमा १० जना मात्र जन्ती जान पाउने छन् । १० जनाभन्दा बढी मलामीसमेत जान नपाइने बताइएको छ । औषधि उपचार तथा अत्यावश्यक कामका लागि भने रोकावट हुने छैन् । औषधी पसल चौविसै घण्टा खुला रहने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने छन् । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरू भने सञ्चालन हुन पाउने छन् । यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनममा रोक लगाइएको छ ।
पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन् । आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने हुने छ । यस्तै गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते राती १२ बजे सकिदैछ ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहने छन् । निषेधाज्ञाको कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्र्तगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २०६ जना उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update