Shittalpati
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने

पाल्पा,कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघिको निषेधाज्ञा जेठ ४ गते राती १२ बजेपछि सकिदै छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैंठकले संक्रमण समुदायमै फैलिएपछि जेठ ४ गते मंगलबार राति १२ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको छ ।

बैठकले निषेधाज्ञालाई थप कडाई गर्ने जनाएको छ । यो समयमा अत्यावश्यक काम बाहेक कुनैपनि मानिस घर बाहिर निस्कन पाउने छैनन् । सडक तथा बजारका चोक चोकमा प्रहरी परिचालन गरिने छ । निषेधाज्ञा अवधिमा खाद्य पसल दैनिक दुई घण्टा मात्र खुला रहने छन् । बिहान ७ देखि ९ बजेसम्म खाद्य पसल खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य कुनै पनि पसल बन्द खुला गर्न पाइने छैन । विवाहमा १० जना मात्र जन्ती जान पाउने छन् । १० जनाभन्दा बढी मलामीसमेत जान नपाइने बताइएको छ ।

औषधि उपचार तथा अत्यावश्यक कामका लागि भने रोकावट हुने छैन् । औषधी पसल चौविसै घण्टा खुला रहने छन् । स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने छन् । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरू भने सञ्चालन हुन पाउने छन् । यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनममा रोक लगाइएको छ । पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन् । आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने हुने छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update