Shittalpati
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट, एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो । डोजर अहिलेसम्म पनि ननिकालिदा उक्त सडक निर्माणको काम अवरुद्ध रहेको छ ।

४८ हजार घनमिटर स्टिमेट रहेको मोटरबाटो सत्यवती गाउँपालिका ओखरभन्ज्याङ बुझुङ्गदेखि कालिगण्डकी गाउँपालिका ३ जयखानीसम्म जोड्ने करिब २ सय मिटर मात्र बाँकी रहँदा तोर्के डाँडामा उक्त डोजर पुरिएको थियो । महिना दिन हुँदा समेत काम अगाडि नबढेपछि स्थानीय चिन्तित बनेका छन् । अहिलेसम्म पनि डोजर निकाल्ने विषयमा कहि कतैबाट पनि पहल हुन नसकेको स्थानीयहरुको भनाई छ ।
लुम्बिनी प्रदेशबाट बिनियोजित एक करोड रकमको टेण्डर श्रेष्ठ कन्ट्रक्सन प्राली तम्घासले सडक निर्माणको काम सञ्चालन गरिरहेको थियो । तर अहिलेसम्म पनि काम अगाडि नबढेपछि सडक निर्माण कार्य पूरा हुन्छ हुँदैन भन्नेमा यहाँका स्थानीयहरु दुविधामा छन् । निर्माण व्यवसायी कम्पनीले भने डोजर निकाल्नका लागि आनाकानी गरेको छ । कम्पनीका सञ्चालक हरि श्रेष्ठले लकडाउनका कारण बीमा कम्पनी आउन नसकेकाले डोजर ननिकालिएको बताए । डोजरको क्षति बीमा कम्पनीले व्यहोर्ने भएकाले त्यसको वस्तुस्थिती देखाउनका लागि डोजर सो स्थानबाट ननिकालिएको उनको भनाई छ ।

डोजर फसेकाले सडक निर्माणको काम अगाडि बढ्न नसकेको वडा अध्यक्ष हेमचन्द्र बुढाले बताए । उनले भने ‘यथाशीघ्र डोजर निकाल्न आफुले पहल गरेको र डोजर निकाल्न साथ काम अगाडि बढ्छ ।’
मोटरबाटो खन्ने क्रममा यहाँका तीनवटा खानेपानीको मुहानमा समेत क्षति पुगेको छ । पानीको मुहानमा क्षति पुग्न जाँदा यहाँका स्थानीयहरुले अहिले खानेपानीको चरम अभाव झेल्नु परेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update