Shittalpati
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त

पाल्पा,जिल्लाको सामुदायिक क्याम्पस तानसेन बहुमुखी क्याम्पस पाल्पाको अध्यक्षमा राजन प्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको क्याम्पसको दोस्रो सभाले पन्तलाई अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।

उनले क्याम्पसलाई थप व्यवस्थित र शैक्षिक गुणात्मक बनाउने दिशामा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा व्यक्त गरे । सभामा प्रमुख अतिथि तथा संघीय सांसद सोमप्रसाद पाण्डेले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउने कार्यमा क्याम्पसले विशेष ध्यान दिनुपर्ने बताए । उनले व्यवसायिक र प्राविधिक शिक्षालाई क्याम्पसले प्राथमिकतामा राखेर अगाडि बढ्न सुझाव दिए । क्याम्पसका संस्थापक/संरक्षक डा. रामप्रसाद शर्माले शैक्षिक उन्नतीको लागि उचित स्थान, ज्ञान र ध्यानको क्षेत्रमा प्रतिवद्ध भएर लागेमा क्याम्पसले थप उपलब्धि हासिल गर्ने जनाए । उनले क्याम्पसलाई थप व्यवस्थित बनाउनको लागि सर्वपक्षित चासो आवश्यक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्याम्पसका संस्थापक रामेश्वरमान बजिमय, पव्लिक क्याम्पस संघका केन्द्रीय सदस्य देवराज ढकाल, पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि प्रकाश ढुङ्गाना, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक राजेश्वर उदय, प्राध्यापक संघ तानसेन बहुमुखी क्याम्पसका सभापति श्रीधर कुमार उपाध्य, पत्रकार मुक्तिप्रसाद न्यौपाने लगायतले क्याम्पसले समय सान्दर्भिक शिक्षामा जोड दिदै गुणस्तर तथा समावेशी शिक्षालाई अगाडि बढाउन सुझाव दिए । कार्यक्रममा क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्यामा वृद्धि गर्ने, क्याम्पसमा प्राविधिक शिक्षाको व्यवस्था गर्ने, ई–लाइब्रेरीलाई थप व्यवस्थित गर्ने भावी योजना तथा कार्यक्रम रहेको बताए । उनले विभिन्न समस्या र चुनौतीहरूका बावजुद पनि गुणस्तरीय, सर्वसुलभ र समुदायले थेग्न सक्ने लागतमा शिक्षा प्रदान गर्नु क्याम्पसको मुख्य उद्देश्य भएको धारणा व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष जगजीवन गौतमको अध्यक्षता, संस्थापक शालिकराम पौडेलको स्वागत, सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update