Shittalpati
स्वदेशमै श्रम र पसिनाका लागि तालिम

रमेश विश्वकर्मा
गुल्मी, स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको पोशाक, गुन्यू, चोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरुको सीपमूलक सिलाई तालिमको शुभारम्भ गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरि व्यवसायिक बन्न आग्रह गरे । उनले भने, ‘तालिम केबल तालिमका लागि मात्रै गराउनु हुँदैन् । सीप जहाँ जाँदा पनि लान सकिन्छ । सीप भनेको व्यक्तिगत निजि सम्पत्ती हो ।’ सोही पक्षलाई ध्यानमा राखेर तालिममा तत्परता देखाउन आग्रह गरे । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सके महिला शसक्तिकरणमा पनि सहयोग पुर्‍याउने पराजुलीले बताए ।

उनले भने, ‘महिलाहरु आफैँ आत्मनिर्भर बन्न सके अरुबाट हेपिनु पर्दैन् ।’ नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, लघु उद्यम अधिकृत सुवास घिमिरेले तालिमको सही सदुपयोग गर्न आग्रह गरे । कार्यालय प्रमुख लक्ष्मण घिमिरेले तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेको बताए । तालिमका लागि प्रदेश सरकारको १९ लाख बजेट विनियोजन भएको उनले बताए । तालिम सिकेपछी उनीहरुलाई प्रविधि हस्तान्तरण गरिनेछ । उनीहरुका लागि सिलाई मेसिन समेत उपलब्ध गराइने घिमिरेले जानकारी दिए । सिटिभिटिद्वारा सहभागीहरुको सीप परिक्षण गरिनेछ । यसबाट दलित महिलाहरुको आर्थिक रुपमा शसक्तिकरणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update