Shittalpati
आफ्नैबाट असुरक्षा

रामचन्द्र रायमाझी
गुल्मी, गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको शव फेला परेको थियो । गत फागुन ८ गते रुरु क्षेत्र गाउँपालिका–३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया ससुरा नन्दलाल ज्ञवालीको हत्या गरिन् । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तामा ठोक्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै असोज १८ गते इस्मा गाउँपालिका–४ दोहली बाँझका २५ बर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुबा दिलबहादुर बस्नेतको विभत्स हत्या गरे । हत्या गरेर फरार बस्नेत पछि पक्राउ परे । त्यस्तै २०७६ पुस १७ मा इस्मा गाउँपालिका–३ दर्लामचौर की ७६ वर्षीया कौशिला विकलाई गहनाको लोभमा दुई बुहारी मिलेर हत्या गरे । २०७६ चैत २७ मा इस्मा गाउँपालिका–२ पालुखाका २९ वर्षीय अर्जुन कुमालले ४६ वर्षीय बाबु टेकबहादुर कुमालको हत्या गरे । उनले घरायसी विवादमै बुबाको हत्या गरेका थिए । हाल उनी जिल्ला अदालत गुल्मीले दिएको १० वर्षको जेल सजाय काटिरहेका छन् । यि त केही प्रतिनिधि घटना मात्र हुन् । गुल्मीमा पछिल्लो समय परिवारभित्रै हत्याका घटनाको शृंखला बढ्दै गएका छन् । यस्ता कार्यमा आफन्त र चिनजानकै व्यक्ति संलग्न हुने गरेको डरलाग्दो अवस्था तथ्यांकले उजागर गरेको छ । यो अत्यासलाग्दो अवस्थाले नेपाली समाजमा खराब आचरण र चरित्रहिनताले सीमा नाघिसकेको स्पष्ट पारेको छ । जति कडा कानुनी प्रावधान बनाइए पनि नियन्त्रणभन्दा बाहिर रहेकाले हत्या र बलात्कार जस्ता जघन्य अपराध रोक्न चेतनामूलक अभियानको अभाव रहेको सरोकारवालाहरुको भनाई छ । समाजमा शिक्षित, बौद्धिक तथा अगुवा र आफन्तका साथै रगतको नाता भएका व्यक्तिसमेत हत्या र यौन अपराधमा संलग्न हुने गरेका छन् । गुल्मीमा आफन्तबाटै आपराधिक क्रियाकलाप बढ्दै गएपछि जिल्लावासीहरु त्रासमा छन् । जिल्लामा शान्ति सुरक्षामा चुनौती बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले त्यसतर्फ आफ्नो ध्यान गएको जनाएको छ ।

जिल्लामा भएका अपराधिक घटनाप्रति आफूहरु गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । आफन्तहरुबाटै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घटनामा संलग्न अपराधिहरुलाई हदैसम्मको कारवाही गर्ने बताइएकी छन् । प्रजिअ शर्मा भन्छिन् ‘घर झगडाका कारण आफन्तबाट हत्याका घटनाहरु घटेकाले समाज पनि चनाखो बन्नुपर्ने हुन्छ ।’ अपराधका घटनाहरु समाजबाटै हुने भएकाले त्यस्ता खालका घटनामा समाजको सहयोग आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन लागि परेको डिएसपी पाण्डेको भनाई छ ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update