Shittalpati
सम्झनाको हत्यामा संग्लन अभियुक्त सार्वजानिक

रमेश विश्वकर्मा

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ३ भाडगाउँमा भएको घटनाको अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा नाताले ससुरा पर्ने स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अनुसन्धानको क्रममा लालबहादुरले सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । अभियुक्त खत्रीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सम्झनाकी सासुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानको अर्को दिन सासु तोमकली खत्री फागुन २ गते घर नजिकै खनियाँको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । शवको गन्ध आएको आधारमा स्थानीयले खबर गरेपछि सम्झनाको शव फेला परेको हो । लालबहादुरले सम्झनाको हत्या गरेको स्विकार गरेपनी के कसरी हत्या भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । सम्झनाको खोजी र तोमकलाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा भएको आन्दोलनमा नाइकेको रुपमा रहेका खत्रीले तोमकलाको शव अन्त्येष्टी गर्ने समयसम्म सक्रियता देखाएको स्थानीयले बताएका छन् । सुरुदेखी नै प्रहरीले लालबहादुरलाई निगरानी गरेको र स्थानीयले दिएको जाहेरीको आधारमा पक्राउ गरी छानविन गर्दा उनी नै अभियुक्त भएको पत्ता लागेको हो । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिईन । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकै टाउको बोरामा र शरीर स्याउला सहित ढुङ्गाले च्यापेर राखेको अवस्थामा फेला परेको थियो । सम्झनाको शव गुल्मी अस्पतालमा रहेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । तोमकलाले आत्महत्या नै गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update