Shittalpati
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’

पाल्पा,पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो ।

अब पाल्पा र नवलपरासी चल्ने सडकमा टिपरले यो नियम मान्नु पर्नेछ । टिपरलाई मात्र लक्षित गरेर ‘टाइम कार्ड’ लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘टाइम कार्ड’ले टिपरको तीव्र गति र सडकमा टिपरका कारण हुने दुर्घटना नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तिव्र गतिमा सवारी चलाएका कारण दूर्घटना बढेको भन्दै न्यूनिकरणको लागि टाईम कार्ड लागू गर्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । टाइम कार्ड लागू भएपछि पाल्पाको दोभानदेखि बुटवल धागो कारखाना रामनगरसम्मको ११ किलोमिटर दुरीमा प्रति घण्टा २० किलोमिटरको गतिमा ३३ मिनेटको समयमा पुग्नुपर्ने छ ।

‘टाइम कार्ड’ लागू गरिएका कारण अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा टिपर गन्तव्यमा पुग्नुपर्ने हुन्छ । तोकेको समयभन्दा अगाडि नै पुग्ने टिपर कारवाहीको भागीदार बन्नु पर्नेछ । तीव्र गतिमा कुदाउने गरिएको र अयोग्य चालकले चलाउने गरेका टिपरका कारण सडक दुर्घटना बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको साउनदेखि पुष मसान्तसम्म ६ महिनाको अवधिमा ५ सय ६६ सवारी दुर्घटना भएका थिए । चालू आर्थिक वर्षको साउन १ देखि पुष मसान्तसम्म ६ सय ३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो । यसैगरी गत वर्षको अघिल्लो ६ महिनामा २ सय ७६ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए भने यो वर्षको ६ महिनामा २ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update