Shittalpati
तानसेनमा नगद सहित १२ लाख बराबरको सुनका गहना चोरी

पाल्पा, पुस २९/तानसेनमा नगद सहित १२ लाख बराबरको सुनका गहना चोरी भएको छ । मंगलबार राती तानसेन नगरपालिका १ गोर्खेकोटकी जानुका बस्यालको घरको गेटमा लगाइएको ताल्चा फोरी नगद सहित १२ लाख बराबरको गहना चोरी भएको हो । चोरले बस्याल माईत गएको अवस्थामा अगाडिको च्यानल गेटमा लगाएको ताल्चा फुटालेर घर भित्र रहेको दराज खोली नगद २५ हजार सहित १३ तोला सुनका गहना चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

पछिल्लो समय तानसेनमा चोरीका घटनाहरु बढ्दै गएका छन् । तानसेन बजारको मुख्य क्षेत्रमै चोरी घटनाहरु बढेका हुन् । तानसेन नगरपालिकाको मुख्य तथा भित्री क्षेत्रमा प्रहरीको नियमित रुपमा गस्ती भएपनि चोरीका घटनाहरु बढ्दै जाँदा स्थानीय त्रसित भएका छन् । प्रहरीले चोरीमा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरे पनि केहीलाई भने पक्राउ गर्न सकिरहेको छैन । गत पुस १२ गते तानसेन नगरपालिका वडा १ मै चोरी भएको थियो । स्थानीय टेक बहादुर गाहाको घरबाट नगद एकलाख पँचास हजार चोरी भएको हो । प्रहरीले चोरी गर्ने तानसेन ४ का २८ वर्षीय सन्दिप बुढाथोकीलाई पक्राउ गर्न सफल भएको थियो । अन्य स्थानमा भएका चोरी घटनाका व्यक्तिहरुलाई भने प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । तानसेन बजारमा दिन प्रतिदिन चोरीका घटना बढेपछि स्थानीय क्षेत्रका वासिन्दाले शान्ति सुरक्षा खस्किएको भन्दै गुनासो समेत गर्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update