Shittalpati
त्रिवक्याका विद्यार्थीद्वारा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातकोत्तर तह चौथो र दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका छन् । नवलपुर जिल्ला कावासोती नगरपालिका–५, अमलटाँरीका थारु, बोटे र मुसर जातिको सामाजिक, साँस्कृतिक एवम् आर्थिक अवस्थामा होमस्टेको प्रभाव सम्बन्धी स्थलगत अध्ययन अनुसन्धान गरी विद्यार्थीहरुले समूहगत रुपमा अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका हुन् ।

चार ओटा समूहले प्रतिवेदन सावर्जनिक गरेको थियो । चौथो सेमेस्टरका योगमाया गाहा, डिल्लीराज गैरे, दोस्रो सेमेस्टरका निर्प परियार, ओमप्रकाश बस्याल, गंगाबहादुर खत्री लगायतले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका हुन् । आर्थिक रुपमा विपन्न समुदायमा विस २०७० साल पछि होमस्टे स्थापना पछि आर्थिक, सामाजिक, साँस्कतिक तथा शौक्षिक रुपमा थारु, बोटे र मुसर समुदायमा ठूलो परिर्वतन देखिएको अनुसन्धानमूलक कार्यपत्रको निचोड रहेको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख जीवनबहादुर थापाले क्याम्पस सधँै विद्यार्थीहरुको रचनात्मक क्रियाकलाप हेर्न चाहेको बताए । सहयाक क्याम्पस प्रमुख कृष्ण कार्कीले समाजशास्त्रका विद्यार्थीहरुको समाज अध्ययन गरी रुपान्तरण गर्ने जिम्मा समेत रहेको भन्दै समाज परिवर्तनका लागि गहन अध्यन गर्न आग्रह गरे । समाजशास्त्र विभागका प्रमुख टेकराज पन्थीले समाजशास्त्रका विद्यार्थीले समाजको अध्ययन गरी समाजलाई रुपान्तरण गर्न ठूलो जिम्मेवारी रहेको बताए । उनले समाज परिवर्तनको अगुवाई नै समाजशास्त्री रहेको धारणा व्यक्त गरे । कार्यक्रम प्रेम खरालको अध्यक्षता, नेत्र बस्यालको स्वागतमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update