Shittalpati
दिब्यज्योतीमा बाल उद्यान र चमेना गृह

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका–३ सराइस्थित दिब्यज्योती माध्यमिक विद्यालयमा बाल उद्यान र चमेना गृह सञ्चालनमा ल्याइएको छ । विद्यार्थीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै विद्यालयले बाल उद्यान र चमेना गृह सञ्चालनमा ल्याएको हो ।

स्थानीय कृष्ण खनालको ८ लाख लगानीमा विद्यालय परिसरमा चमेना गृह निर्माण भएको छ । चमेना गृहमा विद्यार्थीले सहुलियत दरमा नास्ता खान पाउने छन् । एसआरडिसीएन र विद्यालयको सहकार्यमा साढे तीन लाख लगानीमा बाल उद्यान सञ्चालन ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखिराम रानाले जानकारी दिए । यस्तै प्रदेश सरकारको सहयोगमा आधुनिक छात्रा शौचालय समेत निर्माण भएको छ । प्रतिनिधि सभाका सदस्य दलबहादुर रानाको पहलमा नेपाल टेलिकमको सहयोगमा सुविधा सम्पन्न कम्प्युटर ल्याव समेत सञ्चालनमा ल्याईने तयारी रहेको अध्यक्ष रानाले बताए ।

बाल उद्यान र चमेना गृहको प्रदेश सांसद नारायण आचार्यले एक कार्यक्रमका बीच उद्घाटन गरे । उद्घाटन गर्दै सांसद आचार्यले सामुदायिक विद्यालयमा जंग फुड पूर्ण रुपमा निषेध गर्नु बताएका छन् । उनले मानव स्वास्थ्यमा असर गर्ने खालका खानेकुराहरु विद्यालयमा निषेध गर्नुपर्ने बताएका हुन् । अभिभावकले आफ्ना बालबालिकालाई सजिलोका लागि जस्तोपनि खाना खुवाउने गरेको सांसद आचार्यले बताए । ‘जंग फुड खाँदा कति असर गर्छ भन्ने बारे ध्यान दिदैनौ’ उनले भने ‘तत्कालका लागि सजिलो र स्वादिष्ट भएपनि दीर्घकालिन रुपमा बालबालिकाको स्वास्थ्यमा असर गर्छ ।’ कार्यक्रममा ३ का वडा अध्यक्ष दीपक थापाले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताए । ‘जसले विकास गरेपनि यहि क्षेत्रको विकास हुने हो’ उनले भने ‘प्रदेश सरकार र संघीय सरकारबाट यहाँको विकासका लागि सहयोग आउने क्रम चलेको छ । जुन यहाँका जनताका लागि खुसीको कुरा हो ।’ कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्ती मगर र नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले शैक्षिक गुणस्तरका लागि भौतिक संरचनाले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update