Shittalpati
नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पाल्पा प्यारागनकी कृशला प्रथम

पाल्पा । नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूलका कृशला ढुङ्गाना प्रथम भएकी छन् । तानसेनमा सञ्चालित नगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा ढुङ्गाना प्रथम भएकी हुन् ।

उनले ‘भ्रमण वर्ष २०२० र तानसेनको पर्यटन प्रवद्र्धन’का विषयमा आफ्ना गहन विचारहरु प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । प्रतियोगी ढङ्गानाले आफ्ना तार्किक भनाईहरु राख्दै पाल्पामा पर्यटकिय क्षेत्रका थुप्रै सम्भावनाहरु रहेकाले तिनीहरुको प्रवद्र्धन गर्न सके जिल्लाको समृद्धिसँगै भ्रमण वर्ष २०२० ले सार्थकता पाउन सक्ने बताइन् । उनले तानसेन आफैमा सुन्दर र प्राकृतिक रुपमा धनी भएकाले त्यसको सही पहिचना हुन नसक्नु दुखद् रहेको भन्दै पर्यटकहरुलाई भिर्याउने अभियानमा सबै एक हुनुपर्नेमा जोड दिइन् ।

भ्रमण वर्ष २०२० चलिरहेका बेला तानसेन नगरपालिको शिक्षा शाखाले ‘भ्रमण वर्ष २०२० र तानसेनको पर्यटन प्रवद्र्धन’ विषयक नगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा वृन्दावन एकाडेमीका समिक्षा तिमिल्सिना दोस्रो, जनता माविका तृप्ति गैरे तेस्रो, सेन माविका सविन ज्ञवाली र न्यू होराईजन माविका अनु रेग्मी सान्त्वना भएको तानसेन नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मी ढुङ्गानाले जानकारी दिइन् । प्रतियोगितामा नगर भित्रका संस्थागत र सामुदायिक गरी १७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भ्रमण वर्ष र तानसेनको पर्यटनका विषयमा विद्यार्थीमा रहेको ज्ञानलाई बाहिर प्रष्फुटन गर्ने गरी अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगीहरुलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update