Shittalpati
रिब्दीकोटमा एकल महिनालाई आयआर्जनमा प्रोत्साहन

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ आयआर्जन बढाउन प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले परालका जुत्ता र धागोको बत्ती बनाउने तालिम सञ्चालनपछि महिला उत्साहित बनेका हुन् । महिलाबाट उत्पादित वस्तुको गाउँपालिकाले नै बजारको व्यवस्थापन गर्दै आएको छ । एकल महिलाबाट उत्पादित सामान गाउँपालिकाले नै खरीद गरी बजार व्यवस्थापन गर्ने भएपछि महिला थप उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले समाजमा आर्थिक, सामाजिक, राजनीतिक रुपमा कमजोर एकल महिलालाई आर्थिकरुपमा सशक्त बनाउन सकेका अवस्थामा सामाजिक रुपमा हित हुने बताएका छन् ।

गाउँपालिकाका फेक, ठिमुरे र पालुङ्ग मैनादीमा महिलाले आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएका छन् । बत्ती र जुत्ता बनाउन थालेपछि महिला आत्मनिर्भर भएका छन् । आर्थिकरुपमा अरुको भरपर्ने अवस्थाबाट हटाउनका लागि गाउँपालिकाले आयआर्जन बढाउन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष जिसीको भनाइ छ । फेकमा सञ्चालित तालिममा सहभागी १६ एकल महिला परालबाट जुत्ता बनाउने ज्ञान, सीप र क्षमताको अभिवृद्धि हुँदा खुशी देखिएका हुन् । एकल महिला सञ्जाल रिब्दीकोट ८ फेकका अध्यक्ष तारा रायमाझीले आफूहरुले घरमा फुर्सदका समयमा समेत धागोबाट बत्ती र परालबाट जुत्ता बनाउन ज्ञान सिकेको बताए ।

हेर्दा सानोजस्तो देखिए पनि यस कामबाट प्रशस्त आम्दानी हुने र एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने देखिएको रायमाझीले बताए । अहिले पुजाआजामा धागोको बत्ती र परालको जुत्ताको माग बढ्दो छ । जिल्ला समन्वय समितिका सदस्य कमला थापाले एकल महिलाले काम गरेर समुदायको नमूना व्यक्ति बनेर देखाउनुपर्ने बताए । महिलाबाट स्थानीयस्तरमा उत्पादित वस्तु सहजरुपमा बजार पाउन सफल भएको गाउँकार्यपालिका सदस्य दानबहादुर कामीले बताए । गाउँपालिकास्तरीय एकल महिला सञ्जाल गठित छ । सञ्जालले गाउँपालिकाका प्रत्येक वडामा एकल महिला माथि परनिभर्रता हटाउनका लागि तालिम सञ्चालन गर्दै आएको छ । तालिम पछि एकल महिलाका परिवारमा खुशी छाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update