Shittalpati
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी

विष्णु पाण्डेय
पाल्पा । पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए । जुन ७४.९ प्रतिशत हुन आउँछ । तर आ व २०७६/०७७ मा १ सय ९४ मुद्दा दर्ता भएकोमा १ सय ४१ वटा मुद्दा फछ्र्यौट भएका छन् । जुन ७२. ६८ हुन आउछ । कोरोना महामारी र स्थानीय तहमै न्यायिक समितिबाट अधिकांस मुद्दाहरु मेलामिलाप भएकाले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

श्रेस्तेदार बस्यालका अनुसार सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएको १ बर्ष भित्र मेलमिलापको लागि मेलमिलाप केन्द्रमा पठाउने र १ वर्षसम्म पनि मेलमिलाप हुन सकेन भने मात्र जिल्ला अदालतबाट मुद्दा फछ्यौट हुने हुँदा सम्बन्ध विच्छेदका घटनाको फछ्र्यौटमा समेत कमी आएको छ । आव २०७६/०७७ अन्त्यको ४ महिनामा कोराना भाइरसका कारण देशमा लकडाउन भएका कारण अदालत बन्द हुन पुग्दा मुद्दा फस्यौटमा कमी आएको श्रेष्तेदार बस्यालले बताए । उनले भने ‘मुद्दाहरुको अंग ( रीत) पुग्ने बेलामा लकडाउन भैदियो त्यसकारण मुद्दाको फस्यौट यो आर्थिक वर्षमा अलि कमी देखिएको हो ।’ चालु तीन महिनामा जिल्ला अदालतमा ९६ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये सम्बन्ध विच्छेदका ३७ वटा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये १८ फस्यौट भइससकेको अदालतका नायव सुम्बा हिरामणी पन्थले बताए ।

लकडाउन खुलेसँगै अदालतमा मुद्दाको चाप बढ्दो

सरकारले साउन ७ गतेबाट लकडाउन खोलेसँगै अदालतमा मुद्दाको चाप भने बढ्दो छ । चैत्र महिना देखी अदालत बन्द रहेका कारण पनि अदालतमा देवानी मुद्दा दर्ता भएका थिएनन् । तर साउन देखी यता मुद्दाको चाप बढ्दो छ । अदालतले दिएको जानकारी अनुसार पछिल्लो चार महिनामा जिल्ला अदालतमा देवानी प्रकृतिका मुद्दा मात्र ४९ र फौजदारी प्रकृतिका ३१ वटा मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update