Shittalpati
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो । लुविविको गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो चरणमा देवदह सहित क्रमशः बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र वाग्मती प्रदेशको काठमाडौंसहित केही हिमाली जिल्लामा आङ्गिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको लुविविका रजिष्ट्रार डा. तिलकराम आचार्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बुटवलमा सञ्चालन हुने आङ्गिक क्याम्पसमा यसै वर्षदेखि अध्ययन अध्यापन सञ्चालन गर्ने तयारी रहेको र पहिलो वर्ष स्नातक तहमा कानुन र ट्राभल एण्ड टुरिज्म विषयको अध्यापन हुने डा.आचार्यले जानकारी दिए । विश्वविद्यालय सभाले काठमाण्डौँ नेपालको मौलिक कलामा आधारित बुद्धग्रन्थ बज्रयान अध्ययन केन्द्र सञ्चालन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोयिङ डोल्मालाई मनोनयन गरेको छ ।

यस्तै सभाले विश्वविद्यालयले हरेक वर्ष एक बौद्ध विद्धान्लाई प्रदान गर्ने गरी पाँच हजार डलर राशि सहितको अन्तर्राष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्ने समेत प्रस्ताव पारित गरेको डा. आचार्यले जानकारी दिए । सभा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीका प्रमुख आतिथ्यतामा भएको थियो । लुविवि २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो । विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि छोटो भएपनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । उनले विश्वविद्यालयका प्रशासनिक भवनसहित अहिलेसम्म छात्रावास र कर्मचारी आवासगृह निर्माण गरिएको तथा विश्वविद्यालयका लागि रुपन्देहीको देवदहमा करीब एक सय बिघा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जानकारी दिए । डा.आचार्यले कोभिड महामारीका अवस्थामा पनि विश्वविद्यालयले आफ्ना वार्षिक शैक्षिक कार्यक्रमलाई प्रभावित हुन नदिन नियमित रुपमा शैक्षिक पात्रो अनुसार नै शिक्षण सिकाइ सञ्चालन गरेको र परीक्षा पनि सञ्चालन गरेर नमूना प्रस्तुत गरेको बताए । –रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update