Shittalpati
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय

रमेश विश्वकर्मा
गुल्मी । गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् । देशैभरिका विद्यालयहरुले अहिले कोरोना भाइरस (कोभिड–१९) को कारण भर्चुअल माध्यमबाट निबन्ध प्रतियोगितामा सहभागिता जनाएका थिए । रेसुङ्गा नगरपालिका वडा १ चिदीचौरमा रहेको यस विद्यालयमा कक्षा–१० मा अध्ययनरत छात्र पौडेलले ‘मन लगाऔँ, मुटु बचाऔँ’ शिर्षकमा निबन्ध लेखन गरि भर्चुअल माध्यमबाट पठाएका थिए । प्रतियोगिताबाट यस विद्यालयका छात्रले नेपालमै द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।

द्वितीय स्थान हासिल गरेका छात्र पौडेललाई नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आयोजना एवम् महेन्द्र नमूना माध्यमिक विद्यालयको संयोजनमा एक औपचारिक कार्यक्रम गरि केन्द्रबाट प्राप्त भएको नगद ५ हजार रुपैयाँ तथा प्रमाण–पत्र प्रदान गरिएको हो । प्रमाण–पत्र प्रदान गर्दै नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष एवम् रेसुङ्गा नगरपालिका वडा १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आधुनिक सुविधाको प्रयोग, बदलिदो रहनसहन, बानी व्यवहारमा आएको परिवर्तन लगायतका कारण नसर्ने रोगमा पनि मुटु रोगी बढ्दै गएको बताए ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखाका पूर्वअध्यक्ष शेरबहादुर थापाले यस विद्यालयको विकासका लागि विभिन्न तवरले योगदान पु¥याएको बताए । त्यस्तै नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा सदस्य एवम विद्यालयका निवर्तमान अध्यक्ष चुडामणी पन्थीले मानव जीवनमा मुटुको महत्व र यसलाई स्वस्थ राख्ने विषयमा सहभागीहरुलाई जानकारी गराए । विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले विद्यार्थी जीवनमा आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न यसले महत्वपूर्ण अवसर भएको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले द्वितीय स्थान हासिल गर्न सफल यस विद्यायका विद्यार्थीलाई बधाई सहित धन्यवाद दिएका थिए । कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठान उपाध्यक्ष धना भण्डारी, सह–सचिव विनोद पाण्डे, सदस्यहरु माधवप्रसाद ज्ञवाली, ढुण्डीराज पोखरेल, महेन्द्र नमूना माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक कृष्णप्रसाद मरासिनी लगायतको समेत आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सह–कोषाध्यक्ष लक्ष्मी अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update