Shittalpati
स्थानीय खाना संरक्षणमा जुट्दै बेथलका विद्यार्थी

पाल्पा । दिनहुँ पढाईमा व्यस्त हुने विद्यार्थी खाना महोत्सव व्यस्त देखिन्थे । तानसेनमा रहेको बेथल ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूलका विद्यार्थीहरु खाना महोत्सवमा व्यस्त देखिएका हुन् । उनीहरुले स्थानीय खानाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका थिए । पछिल्लो समयमा स्थानीय खानाको सट्टा विदेशबाट भित्रिएका खाद्यान्नको प्रयोग बढ्दै गएपछि विद्यार्थीले स्थानीय खानाको संरक्षण गर्न खाना महोत्सवको आयोजना गरेको विद्यालयका प्रिन्सिपल खेम सारुले जानकारी दिए ।

महोत्सवमा स्थानीय परिकार बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, मःम पानीपुरी लगायतका खानाहरुको स्टल राखिएको थियो । स्कूलले विद्यार्थीहरुलाई पढाईसँगै विभिन्न विषयमा प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिने उद्देश्ले विभिन्न रचनात्मककार्यहरु गर्ने क्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सवको आयोजना गरेका हुन् ।

विद्यालयले नेपाल सरकार र ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएसएको विभिन्न परियोजना कार्यहरु गर्दै आएकोमा यो पनि एक परियोजनाकार्य रहेको स्कूलका प्रिसिन्सपल सारुले जानकारी दिए । परियोजना कार्य गर्नु पूर्व विद्यार्थीहरुलाई नेपाल तथा भारतका विभिन्न खानाका परिकारहरुको बारेमा अभिमूखिकरण तथा पकाउने तरीका सिकाएर त्यसमा प्रयोग हुने सम्पूर्ण सामग्री साथै त्यसको उचित मिश्रण सम्बन्धी ज्ञान दिएर खाना महोत्सवका लागि तयार गरिएको थियो । महोत्सव विद्यार्थीहरुको पेशा व्यवसाय तथा प्रविधि शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेको प्रिन्सिपल सारुले बताए ।

महोत्सवमा विद्यार्थीहरुले पाठ्यपुस्तकमा सिकेका ज्ञानलाई प्रयोगात्मक रुपमा व्यवहारमा लागु गरेका थिए । महोत्सवको अवलोकन गर्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का जिल्ला उपाध्यक्ष महेशमान बज्राचार्यले पाठ्यक्रममा आधारित ज्ञानलाई विद्यार्थीले व्यवहारमा उतारेको प्रति प्रशंसा गरे । अभिभावक दिपा रानी रेग्मीले घरमा चिया पनि पकाउन गाह्रो मान्ने नानीबाबुहरुले सेतो टोपी र सेतो एप्रोन लगाएर विभिन्न परिकारहरु बनाएको देख्दा धेरै नै खुसी लागेको बताइन् ।

तानसेन २ का वडा सदस्य महेशमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपाल लगायतले विद्यार्थीहरुले स्थानीय खानाको संरक्षणमा देखाएको क्रियाशिलताको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम संयोजक तथा पेशा व्यवसाय तथा प्रविधि शिक्षा विषय शिक्षक शोभा गुरु·ले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञान दिगो रहने हुनाले प्रयोगात्मक कार्यलाई शिक्षण सिकाई क्रियाकलापसँगै जोडेर अगाडि बढाइएको बताइन् । विद्यार्थी विशाल गैरेको अध्यक्षता, सुलधा भुषालको स्वागत, विदुषी रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update