Shittalpati
विद्यार्थीकै चाहाना अनुसार वार्षिक उत्सव

पाल्पा, जिल्लाको एक निजी विद्यालयले विद्यार्थीहरुकै चाहाना अनुरुप वार्षिक उत्सव मनाएको छ । तानसेनमा रहेको सेन्ट कपितानियो विद्यालयले विद्यार्थीहरुकै चाहानामा आधारित कार्यक्रमहरुको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । सबै बालबालिकालाई आ–आफ्नो प्रतिभा प्रस्तुत गराउन विद्यालयले तीन चरणमा वार्षिक उत्सवको कार्यक्रम गरेको छ । पहिलो चरणमा कक्षा एकदेखि पाँच कक्षासम्म, दोस्रो चरणमा कक्षा ६ देखि दश सम्मका विद्यार्थीहरुका लागि र तेस्रो चरणमा बालकक्षा देखि यु केजी सम्मका बालबालिकालाई आ–आफ्ना प्रतिभा प्रस्तुत गर्ने मौका दिएको हो ।

विद्यार्थीले गरेका विभिन्न जातजाती भाषाभाषीमा आधारित कला संस्कृतिका प्रस्तुतिले अविभावक, शिक्षक तथा अतिथिहरुलाई पूरा समय बस्ने बनायो । कक्षा ७ का विद्यार्थीहरुले प्रस्तुत गरेको नाटकले इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गर्दा राम्रो परिवार पनि एकछिनमा तहसनहस भएको घटनाले सबैको मन जित्यो । कक्षा एक देखि दश कक्षासम्मका विद्यार्थीहरुले विविधतायुक्त कला संस्कृति प्रस्तुत गरी विविधता बीचको एकता प्रस्तुत गरेका थिए । बालबालिकाहरुले स्थानीय मगरी नाँच अन्तर्गत कौडा, सोरठी, झाम्रे, घाटु नृत्य, नेवारी, गुरुङ, तामाङ, धिमाल, भोटे, कुमाल, तराईको थारु, मैथली, भोजपुरी नृत्यले अविभावकहरुलाई फरक संस्कृतिको जानकारी गराए ।

विद्यार्थीहरुको कार्यक्रम अवलोकन गर्न पुगेका तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले विद्यालयले घोकन्ते पढाईलाई मात्र ध्यान नदिई बालबालिकाको फरक क्षमतालाई समेत उत्तिकै ध्यान दिएर फरक खालको शिक्षा प्रदान गरेको भन्दै विद्यालयको प्रशंसा गरे । विद्यार्थीहरुले बनाएको योजना अनुसार विद्यालयले वार्षिक उत्सव मनाएको प्रिन्सिपल सिष्टर एनिस जोसेफले बताइन् । कक्षा एक देखि दशसम्मका बालबालिकाहरुले आ–आफ्नो क्षमता तथा रुची अनुसारको योजना ल्याए ती योजनाहरुलाई विद्यालय परिवारले सहजीकरण मात्र ग¥यौ, सबै तयारी विद्यार्थीहरुले नै गरे प्रिन्सिपल जोसेफले बताइन् ।

उनले ‘भनिन् हामीले विद्यालयमा भर्ना भएका बालबालिकाहरुलाई पढाईमा मात्र जोड दिदैनौ, विद्यार्थीको फरक क्षमतालाई प्रदर्शन गर्ने प्रशस्त मौका पनि प्रदान गर्दै आएका छौं ।’ वर्षेपिच्छे बालबालिकाको क्षमता अभिवृद्धि गर्ने गरी कार्यक्रम गर्दै आएको विद्यालयका शिक्षक तुल्सीराम पोखरेलले बताए । बालबालिकाले प्रदर्शन गरेको नाटकले हामी अविभावकलाई जिम्मेवार बनाएको तानसेन ३ का मदन गैरेले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update