Shittalpati
‘संविधान सहमतिको दस्तावेज’

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यावहारिक कार्यान्वयनको अहिले महत्वपूर्ण चरणमा रहेको बताउँदै यो शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित गर्दै हामी सबै अघि बढिरहेको बताए ।

‘सघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ, संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको र यसले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग तथा क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ’, सन्देशमा भनिएको छ । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव हुने भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न संविधान दिवसले प्रेरणा दिनेनै छ भन्ने सन्देशमा उल्लेख गरेका छन् । –रासस

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update