Shittalpati
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस

पाल्पा । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे । पाल्पामा पनि भर्चुअलमार्फत केही संघ सस्थाहरुले कार्यक्रम गरेका छन् । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान पाल्पाले बालअधिकार प्रवद्र्धनमा स्थानीय सरकार ः विद्यमान अवस्था र भोलिको बाटो विषयक भर्चुअल बहस कार्यक्रम सोमबार गरेको हो । जिल्लाका विभिन्न गाउँपालिकाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, बालक्लब सञ्जाल, सामाजिक संघसंस्थाबाट सहभागिता जनाएका थिए । बाल अधिकारको सुनिश्चितता स्थानीय सरकारका योजना र कार्यक्रमका विषयमा जानकारी लिनका लागि सम्बन्धित निकायसंग बहस गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान पाल्पाले भर्चुअल कार्यक्रम राखेको संयोजक तथा बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताए ।

कार्यक्रममा माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले गाउँपालिकाबाट भएका क्रियाकलापका विषयमा जानकारी गराउँदै आगामी दिनमा बालमैत्री गाउँपालिका घोषणा लगायतका कार्य गरिने बताइन् । कार्यक्रममा बोल्दै उनले महिला तथा बालबालिकाको क्षेत्रमा धेरे काम गर्न अझै बाँकी रहेकाले बजेट विनियोजन पनि सोही अनुसार हुने बताइन् । उनले आठ वटै वडामा अभियानका रुपमा काम गर्ने र बालक्लबहरुलाई थप सक्रिय बनाएर सामाजिक क्षेत्रमा काम गर्ने वातावरण तयार गर्ने बताइन् । कार्यक्रममा बोल्दै रामपुर नगरपालिका सहायक महिला विकास निरीक्षक पूजा परियारले पछिल्लो समयमा नगरपालिकाले बालबालिका र महिलाका क्षेत्रका विषयमा फरक सोँच राखेकाले रचनात्मक क्रियाकलाप अगाडि बढाएको बताइन् ।

तिनाउ गाउँपालिका सहायक महिला विकास निरीक्षक विमला महतले सबै वडामा बालक्लब गठन भएको र तालिम गोष्ठि संचालन गरेर बालबालिकालाई अधिकारका विषयमा जानकारी गराइएको बताइन् । समाज उत्थान सहयोग केन्द्र, पूर्वखोलाका प्रबन्धक तथा बालअधिकारकर्मी मेहरसिंह थापाले सरोकारवालाको पहिचान गर्दै स्रोत, साधनको प्रयोगमा अगाडि बढ्न समन्वयकारी भूमिका आवश्यक रहेको बताए । इन्द्रेणी समाज केन्द्र निस्दीका प्रबन्धक तथा बालअधिकारकर्मी रुद्र मश्राङ्गीले नीति नियम, योजना तर्जुमाका साथै बालसहभागिता, आवधिक योजनाका विषयमा सुझाव दिए ।

कार्यक्रममा रामतुल्सी मावि रामपुरकी विद्यार्थी रविना ढकाल, रम्भा गाउँपालिका बाल क्लब सञ्जालकी अध्यक्ष सुष्मा सूर्यवंशी, बगनासकाली गाउँपालिका बालक्लब सञ्जालका कोषाध्क्ष दिनेश पाण्डेय, तिनाउ गाउँपालिका सिर्जना आधारभूत विद्यालयकी विद्यार्थी तथा बालक्लब सञ्जालकी सदस्य सुष्मा रुचालले अनुभव सुनाएका थिए । कार्यक्रमको उद्देश्यका साथै बालबालिकाको वर्तमान अवस्थाका विषयमा शिक्षाका लागि राष्ट्रिय सञ्जालका जिल्ला संयोजक शालिकराम पाण्डेयले जानकरी गराएका थिए भने कार्यक्रमको सहजिकरण शिक्षा पत्रकार माधव अर्यालले गरेका
थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update