Shittalpati
भारतमा फसेकी युवतीको उद्दार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नविन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफैँ लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् ।

स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टाइनमा राखिएको छ । आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ । तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ । यसमा आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकाले छिटोभन्दा छिटो परिवारको जिम्मा लगाइएको हो । आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्दारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्दारकर्ता र परामर्शकर्ता तथा स्वदेशफिर्तीमा सहयोग पुर्‍याउने नेपाली दूतावासप्रति आभार व्यक्त गरे । -रासस

 

 

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update