Shittalpati
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना

कृष्ण पोखरेल

तानसेन । दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । स्थानीय उपभोक्ता तथा पत्रकार जगदीश भट्टराई धारामा १४ दिनसम्म पानी नआएपछि तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् । पटक–पटक मौखिक तथा लिखित गुनासो गर्दा समेत कैलाशनगरको बतासेडाँडा क्षेत्रका करीव ४० घरपरिवार १४ दिनदेखि खानेपानीबाट बञ्चित भएपछि बाध्य भएर आन्दोलन स्वरुप धर्नामा बस्नु परेको उपभोक्ता भट्टराईले बताए ।

तानसेन कैलाशनगरको बतासेडाँडा क्षेत्रका ४० घरपरिवार विगत ३ बर्षदेखि खानेपानी समस्याबाट पिडित भएको, पटक–पटक गुनासो गर्दा समेत समितिको कार्यालयबाट सुनुवाई नभएको, कार्यालयबाट गर्न सकिने काम समेत जिम्मेवारी पूर्वक नभएको, सामान्य काममा समेत कार्यालयबाट ध्यान नदिएकाले बाध्य भएर प्रतिनिधीमूलक रुपमा धर्नामा बसेको उपभोक्ता भट्टराईले बताए । उपभोक्ता भट्टराई पहिलो दिन आईतवार दिउँसो साढे १२ बजेदेखी साढे १ बजे सम्म १ घण्टा धर्ना बसेका थिए । भट्टराई सोमवार पनि दिउसो साढे १२ बजेदेखी साढे २ बजे सम्म २ घण्टा धर्नामा बस्ने जनाएका छन् । यसैगरी माग सुनुवाई नहुँदासम्म प्रत्येक दिन एक/एक घण्टा धर्ना कार्यक्रम बढाउदै जाने उपभोक्ता भट्टराईले बताए । २४ औ दिनसम्म माग सुनुवाई नभएमा २४ घण्टा धर्नामा बस्ने उनले बताए । कोभिड १९ को कारण सबै उपभोक्ता धर्नामा बसेर भिडभाड गर्नुभन्दा प्रतिनिधीमुलुक एक जना धर्नामा बसेको र माग सुनुवाई नभएमा दुरी कायम गर्दै धर्नामा उपभोक्ताहरुको संख्या बढ्दै जाने उपभोक्ता भट्टराईले बताए ।

दुई हप्तासम्म धारामा पानी नआएपछि आफुहरु समस्यामा परेको अर्को उपभोक्ता मिना कप्डेलले बताईन् । उनले भनिन् ‘धारामा पानी नआउँदा आकासको पानीबाटै कपडा धुने, ट्वाइलेट जाने र पिउनका लागि घरदेखि ४ किलोमिटर तल मुहानबाट पानी बाकेर खाना बाध्य भएका छौं ।’ उनले माग सम्बोधन नभए सबै उपभोक्ताहरु आन्दोलनमा जाने बताईन् । भाडामा बस्दै आएका कपिवलवस्तुका रामचन्द्र थारुको पनि समस्या उस्तै रहेको छ । उनले पनि लामो समयदेखि धारामा पानी नआउँदा स्कुटीमा पानी बोकेर खानुपर्ने अवस्था सिर्जना भएको बताए । उपभोक्ता समितिको लापरवाहीका कारण आफुहरु समस्यामा परेको थारु बताउँछन् । कोरोना महामारीका बेला सरसरफाईमा बढी ध्यान दिनुपर्ने भए पनि पानी नहुँदा आफुहरु समस्यामा परेको उनको गुनासो छ ।

सिस्ने खानेपानीको मेशिन बिग्रिएको, विद्युतको अनियमिता, तानसेन नगरपालिकाले जथाभावी रुपमा डोजर सञ्चालन गरी पानीको मुख्य पाइप लाईन पटक–पटक क्षतविक्षत पारिदिएकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव केशवराज पौडेलले बताए । खानेपानी समस्याका कारण उपभोक्ता धर्नामा बस्नु समितिको लागि दुःखदायी भएको सचिव पौडेलले बताए । धर्नामा बसेका उपभोक्ता भट्टराई लगायतका उपभोक्ताले राखेका मागहरु दिर्घकालीन रुपमा समाधानको लागि बोर्ड बैठकमा राख्ने सचिव पौडेलले बताए । बर्षायाममा समेत उपभोक्ताको घरमा नियमित पानी नआउनु दुःखद भएको जिल्लाका पत्रकारहरुले बताएका छन् । सो विषयमा उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष डा. पुरनमान बज्राचार्यसँग टेलिफोन सम्पर्क गर्दा फोन उठेन ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update