Shittalpati
नेपाली काँग्रेस गुल्मीले गर्‍यो पहिरो प्रभावित क्षेत्रको अवलोकन

रमेश विश्वकर्मा
गुल्मी । नेपाली काँग्रेस गुल्मीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको नेतृत्वमा गएको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का,क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका नेताहरुले अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् । अवलोकन पछि सचिव पन्थीले पहिरो प्रभावित सबै नागरिकहरुलाई सुरक्षित स्थानमा राख्नुपर्ने बताएका छन् । हामीले सोचे भन्दा निकै गम्भिर परिस्थिती भएकाले छिट्टै नै यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजानु पर्ने भन्दै यस स्थानका झण्डै १ सय १८ घर मध्य धेरै उच्च जोखिममा रहेको बताए । अहिले. उक्त क्षेत्रमा बसोबास गर्न निकै जोखिम भएको हुँदा त्यहाँका नागरिकहरु सोही वडाको हिमालय माध्यमिक विद्यालय हस्तिचौरमा बस्न बाध्य भएका छन् । ‘त्यहाँका नागरिकहरुका समस्या निकै कारुणिक र मर्मस्पर्शी छन्’ सचिव पन्थीले भने । पहिरोको कारण अवरुद्ध भएका खानेपानी, सडक, विद्युत लगायतका सेवाहरु तत्काल सुचारु गर्न आग्रह गर्दै सचिव पन्थीले भने,‘तमाम किसानहरुको खेतीपाती, पशुचौपाया लगायत निकै धेरै भौतिक क्षति भएको छ, ती नागरिकहरुलाई विशेष प्याकेज बनाई तत्काल क्षतिपूर्तिको ब्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नेपाली काँग्रेस गुल्मीले सरकारलाई आग्रह गरेको छ । अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो । पहिरोले पुरिएर १८ वर्षका बच्चा सहित दुई जनाको मृत्यु भएको छ । पहिरोका कारण दर्जानौ घरहरु विस्थापित भएका छन् । पहाडका वस्तिहरुको जोखिम न्यूनीकरण गर्ने एक मात्र विकल्प अब एकीकृत बस्तीको योजना बाहेक अरु केही नभएकाले तत्काल प्रभावितलाई राहत उपलब्ध गराउन काँग्रेसले आग्रह गरेको छ ।

अविरल वर्षाका कारण गएको पहिरोमा पुरीएर १८ महिनाका सिजन सारु र ७ वर्षकी अपेक्षा खत्रीको ज्यान गएको थियो । त्यस्तै पहिरोमा परी मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे अहिलेसम्म बेपत्ता छन् । तत्काल उद्दार तथा खोजतलास गर्न सरकारसँग काँग्रेस विशेष आग्रह गरेको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् । घाइते हुनेमा बर्ष ९० कि पुतली खत्री, बर्ष ६४ का टिका खत्री, बर्ष ५ का आयुस खत्री, बर्ष २७ की इश्वरी खत्री, बर्ष २१ कि सिर्जना सारू, बर्ष २५ को बसन्त सारु रहेका छन् । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update